टक्सार (भोजपुर), २२ माघः भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिर्जना बनमालीले जानकारी दिनुभयो ।
जिल्लाका नौ वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको प्रमुख बनमालीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा एक हजार ३९६ किशोरीलाई यस पटक खोप लगाइने छ । गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाईसमेत यसपटक अनिवार्यरूपमा समेट्ने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको छ ।
विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । खोप अभियान अन्तर्गत जिल्लामा २३१ वटा खोप केन्द्र निर्धारण गरिएका छन् । प्रत्येक खोपकेन्द्रमा एक स्वास्थ्यकर्मी र एक स्वयंसेवक परिचालन हुने छन् ।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर समस्यामध्ये एक हो । पाठेघरको क्यान्सर न्यूनीकरणका लागि ३० वर्षमाथिका महिलाको क्यान्सर ‘स्क्रिनिङ’ कार्यक्रम पनि सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।