माघ २३, २०८२ शुक्रबार

गण्डकी, २३ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार १४० प्रहरी परिचालन हुने भएका छन् । 

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६ र कास्कीमा ९५७ प्रहरी परिचालन हुनेछन् । 

यसैगरी, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११, बागलुङमा ६५८ र पर्वतमा ४३९ जना प्रहरी परिचालन हुनेछन् । प्रदेशभर १४ हजार १२ जना निर्वाचन प्रहरी खटाइने प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताउनुभयो । 

अठार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता छन् । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता छन्भने मनाङमा सबैभन्दा कम सात हजार छन् । स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई लाख ५४ हजार ३९७, नवलपुरमा दुई लाख ६८ हजार ५२६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता छन् । 

यसैगरी, लमजुङमा एक लाख ३७ हजार १२४, पर्वतमा एक लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ४३८ मतदाता रहेका छन् । प्रदेशका ११ वटै जिल्लामा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको छ ।