माघ २५, २०८२ आइतबार

गलकोट (बागलुङ), २५ माघ : गण्डकी प्रदेशमा नै सर्वाधिक अङ्क प्राप्त गरी बागलुङको गलकोटस्थित नरेठाटी स्वास्थ्यचौकी उत्कृष्ट बनेको छ । न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनका आधारमा उक्त स्वास्थ्यचौकी उत्कृष्ट भएको हो ।

नरेठाँटी स्वास्थ्यचौकीको न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरेरे उत्कृष्ट बनेको हो । मूल्याङ्कनमा नरेठाँटी स्वास्थ्यचौकीले विभिन्न स्वास्थ्य सूचकका आधारमा सो अङ्क प्राप्त गर्न सफल भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 

गत वर्ष पनि नरेठाँटी स्वास्थ्यचौकीले गण्डकी प्रदेशमै ९६ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो । यस वर्ष हालसम्म सम्पन्न भएका मूल्याङ्कनमा ९८ प्रतिशत अङ्कसहित नरेठाँटी स्वास्थ्यचौकी प्रदेशकै पहिलो स्थानमा रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो ।

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको मेहनत र लगावका कारण प्रदेशमै उत्कृष्ट बनेको घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार भौतिक पूर्वाधारजस्तै भवनको अवस्था, पानी–बिजुली, शौचालय, प्रतीक्षालय, सेवा कक्ष, अपाङ्गमैत्री पहुँच, फोहर व्यवस्थापन, कर्मचारी, तालिम र त्यसले दिने सेवा प्रवाहको अवस्थाका आधारमा मूल्याङ्कन हुँदै आएको छ । 

फोहर व्यवस्थापनमा मानव संशाधन, स्वीकृत दरबन्दीअनुसार कर्मचारी, उपस्थिति, तालिमप्राप्त जनशक्ति, जिम्मेवारी बाँडफाँट, ओपिडी, मातृशिशु सेवा, खोप, परिवार योजना, पोषण, क्षयरोग÷कुष्ठरोग सेवा, आकस्मिक प्राथमिक उपचार, औषधि तथा उपकरण, आवश्यक औषधिको उपलब्धतालगायतले नरेठाँटी उत्कृष्ट रहेको गलकोट–२ का वडाध्यक्ष हेमन्त भण्डारीले जानकारी दिनुभयो ।