पथरी (मोरङ), २५ माघः दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले हात पारेको छ । सतिसाले भेट्रान्सलाई २–० गोलअन्तरले हराउँदै उर्लाबारी भेट्रान्सले उपाधि चुमेको हो । विजयी उर्लाबारी भेट्रान्सले उपाधिका साथ नगद रु एक लाख ११ हजार १११ प्राप्त गर्यो भने उपविजेता सतिसाले भेट्रान्सले उपाधिसहित रु ५५ हजार ५५५ प्राप्त गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा उर्लाबारीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४२औँ मिनेटमा उर्लाबारीका लागि विकास राईले पहिलो गोल गरे । मित्त बस्नेत खेलको ७२ औँ मिनेट गोल गर्दै अग्रता दोब्बर पारे । खेलको म्यान अफ दी म्याच उर्लाबारी भेट्रान्सका पहिलो गोलकर्ता विकास राई, गोल्डेन ग्लोप्स गोलरक्षक विनोद गौतम घोषित हुँदै नगद रु पाँच–पाँच हजार प्राप्त गरे । सतिसाले भेट्रान्सका निरु लिम्बूले गोल्डेन बलसहित नगद रु पाँच हजार र जीवन लिम्बूले गोल्डेन बुटसहित नगद रु सात हजार ५०० प्राप्त गरे ।
पथरी शनिश्चरे भेट्रान्सले आयोजना गरेको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका आठ टिमको सहभागिता थियो । यही माघ १७ देखि २४ गतेसम्म सञ्चालन भएको प्रतियोगिता प्रस्तावित पथरी रङ्गशालामा सञ्चालन भएको थियो । पथरी शनिश्चरे नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको पहिलो पुरस्कार मेचिकाली रेस्टुरेन्ट मलेसिया र दोस्रो पुरस्कार सञ्जीव लिङ्देनले प्रदान गर्नुभएको थियो ।