माघ २५, २०८२ आइतबार

कञ्चनपुर, २५ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कञ्चनपुरमा चुनावी प्रचारप्रसारले तीव्रता पाएको छ । उम्मेदवार समर्थकसहित गाउँ, बस्तीमा पुगेर मतदातासँग भोट माग्न व्यस्त छन् । 

    यसैबीच शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरका दलित समुदायले भने बस्तीको विकास गर्ने उम्मेदवारलाई मतदान गर्ने बताउँछन् । स्थानीयले पक्की पुल निर्माण, नमूना दलित बस्ती, स्वदेशमा रोजगारी, सिँचाइका लागि बोरिङ, सडक बत्ती तथा जग्गाको लालपुर्जा वितरणलगायत माग अघि सारेका छन् । ती माग पूरा गर्ने प्रतिबद्धतासहित विश्वासिला उम्मेदवारलाई मतदान गर्ने बस्तीका अगुवाहरूको भनाइ छ ।

    “दलित बस्तीलाई नमूना बस्ती बनाउने र स्थानीय खोलामा पक्की पुलको माग पुरानै हो”, स्थानीय धर्मबहादुर सार्कीले भन्नुभयो, “हालसम्म ती वाचा पूरा भएनन् वर्षौँदेखि खोला वारपार गर्न समस्या छ, पुल निर्माणको आश्वासन धैरै पटक पायौँ तर कसैले सुनुवाइ गरेनन् ।”

    स्थानीयका अनुसार बस्ती नजिक स्वास्थ्य चौकी नहुँदा उपचारका लागि करिब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । “स्वास्थ्य चौकी पुगे पनि औषधि अभाव सधैँ रहन्छ”, जञ्जाली सार्कीले भन्नुभयो, “अन्ततः निजी मेडिकलमा गएर चर्को शुल्क तिर्नुपर्ने अवस्था छ, यी समस्या समाधान गर्ने उम्मेदवार हाम्रो रोजाइमा पर्नेछन् ।”

    बस्तीमा पुग्ने सडकको अवस्था पनि दयनीय रहेको स्थानीयको गुनासो छ । वर्षौँदेखि धुलाम्मे र हिलाम्मे सडकमा आवतजावत गर्नुपरेको भन्दै उहाँहरूले स्थानीय तहदेखि प्रदेशसम्म पटकपटक सडक स्तरोन्नतिका लागि आग्रह गरे पनि सुनुवाइ नभएको बताएका छन् । “सडक बत्ती जडानको माग पनि पुरानै हो । सधैँ आश्वासनमै सीमित रहने, कार्यान्वयन नहुने प्रवृत्ति अन्त्य हुनुपर्छ”, जञ्जालीले भन्नुभयो ।

    सिँचाइका लागि बस्ती नजिक जडान गरिएको एक बोरिङ पर्याप्त नभएको स्थानीय बताउँछन् । “रोपाइँको समयमा पानीका लागि मारामारको स्थिति पैदा हुन्छ”, मन्दिर सार्कीले भन्नुभयो, “अर्को बोरिङ जडान गरी सहज सिँचाइको व्यवस्था गर्नुपर्ने माग छ ।”

    गाउँमा रोजगारीका अवसर नहुँदा अधिकांश युवा भारतका विभिन्न सहरमा कुल्ली र दरबानको काम गर्न बाध्य भएका पदम सार्कीले बताउनुभयो । “गाउँमै परम्परागत सीपमा आधारित उद्योग स्थापना गर्ने र युवालाई तालिम दिएर रोजगारी सिर्जना गर्ने विषय हरेक चुनावमा सुनिन्छ”, उहाँले भन्नुभयो, “तर व्यवहारमा केही भएको छैन ।”

    जग्गाको स्वामित्वसम्बन्धी समस्या पनि पुरानै रहेको स्थानीयको गुनासो छ । वर्षौँदेखि लालपुर्जा पाउने आशमा बसेका उहाँहरूले नापीको काम अघि बढे पनि लालपुर्जा कहिले पाइन्छ भन्ने टुङ्गो नभएको बताएका छन् ।

    दलित समुदायका बुढापाकाका अनुसार यसपटक पूरै बस्तीको साझा धारणा बनेको छ, “बस्तीका आवश्यकता पूरा गर्ने विश्वासिलो उम्मेदवारलाई एकमतले मतदानले गर्ने ।” कलुवापुरमा मात्रै साठी घर दलित समुदाय बसोबास गर्छन् भने पूरै वडामा १८० परिवार दलितको बसोबास छ ।