माघ २८, २०८२ बुधबार

म्याग्दी, २८ माघ: बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतिक्षापछि नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गर्नुभयो । 

    बुवाको पहिचान नभएका कारण घिमिरेले नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन् । १६ वर्षको उमेर हुँदादेखि गरेको प्रयास आज आएर सफल भएकोमा घिमिरेले खुसी व्यक्त गर्नुभयो । 

    सुवासलाई उहाँकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । नागरिकताका लागि सुवासले तीन वर्षअघि सबै प्रक्रिया पूरा गरेर आवेदन दिनुभएको थियो । 

    नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन २०८२ तथा नियमावलीको चौथो संशोधन, २०८२ अनुसार सुवासलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । 

    नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस भएको सुवासले प्रतिक्रिया दिनुभयो । शारीरिक रुपमा अपाङ्गतासमेत भएका सुवास नागरिकता नहुँदा सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुभएको थियो । 

    रोजगारीको अवसर र बैंक खाता सञ्चालन गर्न नपाउँदा सुवासको दैनिकी असहज भएको थियो । सुवास र उनकी आमा कमला आफन्तको घरमा आश्रय लिएर बस्नुभएको छ । सुवास कमलाका कान्छा छोरा हुन् । हाल भारतमा कार्यरत कमलाका जेठा र माइला छोराले भने नागरिकता बनाएका छन् । साइला छोराले भने अझै नागरिकता पाएका छैनन् । 

    नेपाल नागरिकता (चौथो संसोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि बेनीका मिर खान, यास्मीन बेगम र मालिका गाउँपालिका–५ देवीस्थानकी सीमा पुनलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो । 

    थप केही सेवाग्राहीहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्नका लागि आवेदन पेस गरेका छन् । प्राप्त भएको आवेदनको छानबिन र आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता प्रदान गरिने सहायक प्रजिअ आचार्यले बताउनुभयो ।