काठमाडौँ– विदेशमा चिकित्सा विधाको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई स्वदेशमै इन्टर्नसिपको व्यवस्था गर्ने सरकारले तयारी थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै सन् २०१५ मा भर्ना भई हालसम्म सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमा नै बाँकी अवधिको प्रयोगात्मक अभ्यास पूरा गर्ने व्यवस्था सम्बन्धमा चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायबाट विवरण माग गरेको छ ।
तर यो सूचना स्पष्ट नभएको विद्यार्थीहरूले बताएका छन् । स्वदेशमै (नेपालमै) इन्टर्नसिपको अवधि पूरा गर्न पाउनुपर्ने भन्दै तीन महिनादेखि लगातार सरकारसँग माग राख्दै आएका आन्दोलनरत विद्यार्थी अनिश रेग्मीले नेपाल मार्गसँग भने "२०१५ र २०१६ गरी दुई व्याच रहेकामा सरकारको नोटिस कसका लागि हो, त्यो स्पष्ट नै छैन ।" नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराउँदै रेग्मीले सन् २०१५ र २०१६ एमबिबिएस व्याच "चाइना" का विद्यार्थीहरूका लागि पनि स्वदेशमै इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने भनाइ राखेका छन् ।
मंगलबार उक्त व्याचका विद्यार्थीहरूले नेपाल मेडिकल काउन्सिलअगाडि प्रदर्शनसमेत गरेका छन् ।
कोभिडका कारणले नेपाल फर्किएपछि इन्टर्नसिप सुरु भइसकेको अवस्थामा सो पूरा गर्न आफू पढेको कलेजमा फर्किने वातावरण नभएपछि ती नेपाली विद्यार्थीहरू तीन महिनादेखि आन्दोलनमा छन् ।
मन्त्रालयले प्रयोगात्मक अभ्यास पूरा नभएका विद्यार्थीहरूका लागि असोज १२ गतेदेखि असोज २२ गतेसम्म अनलाइन आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ ।
यसअघि नेपाल मेडिकल काउन्सिलले सन् २००८ को व्याचदेखि नै विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले इन्टर्नसिप पनि विदेशमै सकेर आउनुपर्ने व्यवस्था गरेको थियो ।
