फागुन ४, २०८२ सोमबार

गण्डकी, ४ फागुनः उद्योगपति एवम् लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्ना जीवनका भोगाई र अनुुभव समेटिएको ‘संसार आफ्नै’ एउटा उद्यमीले बाँचेको समय पुुस्तक बजारमा आएको छ ।

कर्माचार्यले शिक्षकका रुपमा प्राप्त ज्ञान, आफ्नो व्यावसायिक अनुुभवसँगै पोखराको व्यावसायिक परिवर्तन लगायतका विविध विषयलाई पुस्तकमा समेट्नुुभएको छ । कोसेली प्रकाशन पोखराद्वारा प्रकाशित पुस्तकमा कर्माचार्यले आँफू र आफ्नो परिवारको मात्र नभएर समस्त कर्माचार्य बन्धुुहरूको बसोबास नेपालका कुनकुन जिल्लामा छ, त्यसबारे पनि जानकारी दिने प्रयास गर्नुुभएको छ । 

हिजो र आज कर्माचार्य बन्धुहरूको पेसा व्यवसाय र बसोबासमा आएको भिन्नतालाई पुस्तकमा देखाउन खोजिएको छ । कर्माचार्य आँफूले सेवा गर्ने अवसर पाएका संस्थाका विगतका स्मरणलाई पुस्तकमा उल्लेख गर्नुुभएको छ । आफ्नी श्रीमती लक्ष्मीसुन्दरीको मिर्गाैला रोगबाट भएको निधनले पारिवारिक जीवनमा पारेका प्रभाव प्रभावलाई कमार्चाले उक्त पुस्तकमा उल्लेख गर्नुुभएको छ ।

     मिर्गाैला रोग लागेपछि आर्थिक भारले उपचार गर्न नसकिने गम्भीर अवस्थालाई दृष्टिगत गर्दै मिर्गाैला पीडितका लागि सहयोगार्थ राखिएको रु ३० लाखको लक्ष्मीसुन्दरी कर्माचार्य मिर्गाैला पीडित सहयोग अक्षयकोषमार्फत त्यसको ब्याजमध्येबाट वार्षिक एकजना मिर्गाैला पीडितलाई रु एक लाख सहयोग गर्दै आइएको पुस्तकमा उल्लेख छ । 
    
त्यस्तै लेखनाथ उद्योग वाणिज्य सङ्घमार्फत सञ्चालित रु एक लाख एक हजारको ‘चन्द्रलक्ष्मी कर्माचार्य ज्येष्ठ नागरिक सेवा पुरस्कार पनि त्यसैबाट उपलब्ध गराउँदै आइएको पुस्तकमा भनिएको छ । पोखराका विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कर्माचार्यले लेखनाथ उद्योग वाणिज्यको सङ्घको स्थापना, सङ्घको भवन निर्माण, सङ्घले गर्दै आएको लेखनाथ महोत्सव, लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्थापना, पृथ्वी राजमार्गमा बस सञ्चालन आदिबारे पनि चर्चा गरिएको छ ।

नेवारी समुदायले योमरी पुन्हीका दिन खाने परिकारलाई अन्तरराष्ट्रिय ब्रान्ड बन्न सक्ने परिकारका रुपमा प्रस्तुत गर्दै कर्माचार्यले त्यसको महत्व एवम् सांस्कृतिक पक्षबारे चर्चा गर्नुुभएको छ । आफ्नो व्यावसायिक यात्राका विविधपक्षबारे चर्चा गर्दै पुस्तकमा कमाचार्य ग्रुपको स्थापनासँगै त्यसयता आँफूहरूले सञ्चालनमा ल्याइएका गरिएका कर्माचार्य नुडल्स इन्डस्ट्रि, कर्माचार्य आयल इन्डस्ट्रि प्रालि, एभरेष्ट रबर उद्योग प्रालि, कर्माचार्य प्लास्टिक उद्योग प्रालि, गण्डकी प्लास्टिक प्रोडक्ट्स प्रालि, छाँगो प्लास्टिक इन्डस्ट्रिज प्रालि, गण्डकी आयल मिल प्रालि, कर्माचार्य फुडग्रेन्स कम्पनी प्रालि, कर्माचार्य बेक्स एण्ड फुड्क इन्डष्ट्रिज प्रालि, फिस्टेल डेरी उद्योग प्रालि, कन्ट्री फुड्स प्रालि, कन्ट्री कन्फेक्सनरी प्रालि आदिका कथाव्यथाबारे चर्चा गरिएको छ ।

पुस्तकका सम्बन्धमा चर्चा गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तकमार्फत कर्माचार्यले आफ्ना भावना, अनुुभव, यथार्थ अनुुभूतिसँगै भोगेका सुख दुःखका कुरालाई अभिव्यक्त गर्नुुभएको बताउनुुभयो ।“एउटा शिक्षककमा रुपमा प्राप्त ज्ञान, उद्यमीका रुपमा गर्नुुपरेको सङ्घर्ष र पाएको सफलता, समाजसेवी बन्दा र विभिन्न सङ्घ संस्थामा आवद्ध हुँदाको कथा अनि एउटा पतिका रुपमा, अभिभावकका रुपमा आफ्ना परिवारजनप्रतिको आत्मियताबारे सविस्तार उल्लेख हुनु यस पुस्तकको रोचक पक्ष हुन गएको छ”, मुल्मीले भन्नुुभयो, “यसमा आफ्ना कमाचार्य पूर्वज÷वंशको जरा खोज्न देखाएको जिज्ञासा अझै महत्वपूर्ण छ ।”
    
जीवनमा अनुशासन र मेहनतको आवश्यकता, आउने उतारचढाव र चुनौतीलाई सहज बनाउन चाहिने लगनशीलता र क्रियाशीलताको कति धेरै महत्व छ, भन्ने कुरा पुस्तकमा प्रतिविम्बित भएको मुल्मीले बताउनुुभयो । जम्मा २१० पृष्ठमा रहेको पुस्तकको शनिबार एक समारोहकाबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लोकार्पण गर्नुुभयो । 

महानगरप्रमुख आचार्य, पुस्तकका समीक्षक एवम् लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष चतुुराखर अधिकारी लगायतले एउटा उद्यमीका जीवनका भोगाइ र अनुुभव समेटिएको पुस्तक अरुका लागि पनि प्रेरक बन्ने विश्वास व्यक्त गर्नुुभयो ।