फागुन ४, २०८२ सोमबार

इटहरी (सुनसरी), ४ फागुन ः पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुआत गरेकामा  यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरेको जानकारी दिइयो ।  जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा छोडाउने प्रयोग गरिएको केन्द्रका प्रमुख सन्तोषराज त्रिपाठीले जानकारी दिनुभयो । 

उहाँले  भन्नुभयो, “अब उत्पादन बढाउनका लागि धेरै क्षेत्रफलमा लगाउन ठूला किसानलाई प्रोत्साहन गर्नुपर्ने हुँदा उपकरण प्रयोग गरेर सहज बनाउन थालिएको छ ।  भारत र बङ्गलादेशमा पनि उपकरणकै प्रयोग गर्ने गरिएको छ ।”

अनुसन्धान केन्द्रका अनुसार पूर्वको तराईका जिल्लामा सात हजार हाराहारी हेक्टरमा जुटखेती लगाउँदा दस हजार हाराहारी मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि विकास मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रको बुलेटिनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०८०÷८१ मा सात हजार २२० हेक्टर क्षेत्रफलमा जुट लगाउँदा दस हजार २२० मेट्रिक टन जुट उत्पादन भएको छ ।

पूर्वका जिल्लामध्ये सबैभन्दा बढी सुनसरी र मोरङमै जुटखेती हुने गर्छ । यी बाहेक झापा, सिरहा, सप्तरी र उदयपुरमा पनि जुटखेती हुने गर्छ । अहिले नेपालमा उत्पादन भएको जुटले यहाँका उद्योगका लागि १० देखि १५ प्रतिशतसम्म धान्ने गर्छ । बाँकी ८५ देखि ९० प्रतिशत उद्योगका लागि चाहिने कच्चापदार्थ भारत र बङ्गलादेशबाट ल्याउने गरिन्छ ।  देशभर सञ्चालित ११ उद्योगमध्ये अहिले छ बन्द छन् ।