महेन्द्रनगर (धनुषा), ४ फागुनः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वच्छ निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउनुभएको छ ।
निर्वाचन आयोग र नेपाल कानून समाजद्वारा आज जनकपुरधाममा आयोजित ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ शीर्षकमा आयोजित छलफलमा उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना बिना लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण सम्भव नहुने बताउनुभयो ।
मुख्यमन्त्री यादवले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा नागरिक समाज सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन आयुक्त सगुन शम्शेर जवरले निर्वाचन आचारसंहिता केवल कानुनी दस्तावेज मात्र नभई स्वच्छ निर्वाचनको नैतिक आधार भएको बताउनुभयो । उहाँले निर्वाचनलाई मर्यादित र पारदर्शी बनाउन सरोकार भएका सबैको साझा प्रतिबद्धता अपरिहार्य भएको बताउनुभयो ।
आयुक्त जवरले आचारसंहिता उल्लङ्घनमा आयोगले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने स्पष्ट पार्दै अनुगमन संयन्त्र सुदृढ बनाइएको जानकारी दिनुभयो ।
छलफलमा विभिन्न राजनीतिक दल, सरकारी निकाय, कानुन व्यवसायी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता थियो ।