फागुन ४, २०८२ सोमबार

मुगु, ४ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ ।

    यस क्षेत्रबाट निर्वाचनमा नेपाली कांग्रेसबाट खडगबहादुर शाही, नेकपा (एमाले)बाट पूर्णहादुर रोकाया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटा, नेकपा (माओबादी)का रङ्गवीर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल र प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल प्रतिस्पर्धामा हुनुहुन्छ ।

    विसं २०७४ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा पराजित कांग्रेसका शाही अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेका रोकाया निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख पनि हुनुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीका शाही भने २०५६ सालको संंसदीय निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँ विसं २०७४ को प्रदेशसभा सदस्यमा निर्वाचित भएर कर्णाली प्रदेश सरकारमा कृषि तथा सहकारीमन्त्रीसमेत भएसक्नुभएको छ  । 

    विसं २०७९ मा भएको निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो हुँदा कांग्रेस दोस्रो भएको थियो । साथै तेस्रोमा माआवादी केन्द्र र चौथोमा नेकपा (एकीकृत समाजवादी) पार्टी भएका थिए । तत्कालीन समयमा  एमालेले आठ हजार ६४३, नेपाली कांग्रेसले आठ हजार ४४०, माओवादी केन्द्रले  चार हजार ६५० र एकीकृत समाजवादिले दुई हजार ६१२ मत प्राप्त गरेका थिए । अहिले माओवादी केन्द्र र एकीकृत समाजबादी पार्टीबीच एकता भएर नेकपा भएको छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटा आफूलाई नयाँ अनुहारका रुपमा प्रस्तुत गर्नुभएको छभने अन्य पार्टीका नेताले पनि आफूहरुको जित सुनिश्चित भएको दाबी गर्दै मत मागिरहनुभएको छ । 

    जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा ३६ हजार ३१ जना मतदाता छन् । चारवटा स्थानीय तह रहेको मुगुमा ६७ मतदानस्थल र ७९ मतदान केन्द्र तोकिएका छन् । विसं २०७९ को निर्वाचनमा यहाँ ७४ प्रतिशतले मतदान गरेका थिए । विसं २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फको नेकपा (माओवादी केन्द्र), एकीकत समाजवादी र नेपाली कांग्रेसले गठबन्धन गर्दा कांंग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत प्राप्त गर्नुभएको थियो भने एमालेका उम्मेदवार राजबहादुर कार्कीले १० हजार ७१० मत ल्याउनुभएको थियो ।