फागुन ४, २०८२ सोमबार

सिड्नी, ३ फागुन  : अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित एक सङ्ग्रहालयबाट चोरी भएका बहुमूल्य इजिप्टेली कलाकृतिहरू प्रहरीले तीव्र कारबाहीपछि पुनः बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा ५२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरी विभिन्न आपराधिक अभियोग दर्ता गरिएको छ ।

    प्रहरीका अनुसार क्विन्सल्यान्ड सहर क्याबुल्चरमा रहेको अबे कला तथा पुरातत्व सङ्ग्रहालयमा शुक्रबार बिहान सबेरै झ्याल तोडेर प्रवेश गरिएको थियो । त्यहाँबाट प्राचीन ममीको मुखौटो, ऐतिहासिक कलर, गहनाका टुक्रा तथा काठको बिरालोको मूर्तिकलासहितका अमूल्य वस्तुहरू लगिएको आरोप लगाइएको छ । घटनालाई ‘स्म्यास–एन्ड–ग्र्याब’ शैलीको चोरीका रूपमा वर्णन गरिएको छ ।

    चोरीपछिको अनुसन्धानमा प्रहरीले अर्को दिन सङ्ग्रहालयको दक्षिणतर्फ रहेको फेरी टर्मिनल क्षेत्रमा पार्क गरिएको एक कारमा खोजतलास गर्दा अधिकांश सामग्री फेला पारेको जनाएको छ । काठको बिरालोको मूर्तिकला भने प्रारम्भमा भेटिएको थिएन । प्रहरीका अनुसार सोही साँझ संदिग्धलाई नियन्त्रणमा लिँदा उक्त अन्तिम हराएको कलाकृति पनि उनकै साथबाट बरामद गरिएको हो । बरामद गरिएका सामग्रीमा सामान्य क्षति पुगेको बताइएको छ ।

    स्थानीय सञ्चारमाध्यमले संदिग्धको पहिचान मिगुएल साइमन मुङ्गारिएटा मोन्साल्वे नामका व्यक्तिका रूपमा उल्लेख गरेका छन् । उनीमाथि गैरकानूनी रूपमा तोडफोड गरी प्रवेश गरेको, चोरी गरेको तथा जानाजानी क्षति पु¥याएको अभियोग दर्ता गरिएको छ । सार्वजनिक प्रसारणकर्ता अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी) का अनुसार सोमबार अदालतमा सरकारी वकिलले ती कलाकृतिहरू चोरी गरिनुका साथै अन्य वस्तुहरूमा ‘अपूरणीय क्षति’ पु¥याइएको दाबी गरेका थिए ।

    अभियोजकका अनुसार संदिग्धले प्रहरीसमक्ष सङ्ग्रहालय क्याथोलिक चर्चसँग सम्बन्धित रहेको विश्वासका आधारमा उक्त कार्य गरेको बताएका थिए । यद्यपि यसबारे थप आधिकारिक टिप्पणी सार्वजनिक गरिएको छैन ।

    सङ्ग्रहालय प्रशासनले सबैजसो वस्तुहरू सुरक्षित रूपमा फिर्ता पाएकोमा राहत महसुस गरेको जनाएको छ । तथापि, तत्काल प्रदर्शनमा राख्न नसकिने स्पष्ट पार्दै प्रत्येक वस्तुको दीर्घकालीन संरक्षणका लागि पेशागत मूल्याङ्कन र पुनःसंरक्षण आवश्यक रहेको जनाएको छ । यस घटनाले सांस्कृतिक सम्पदाको सुरक्षाबारे पुनः प्रश्न उठाएको विश्लेषण गरिएको छ ।