गण्डकी, ५ फागुन ः कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको मतदानस्थलमा हालसम्म पनि सडक पहुँच नपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुुभयो । उक्त मतदानस्थल पुग्न सडक पहुँच भएको झिनुदेखि करिब दुई घण्टा हिँड्नुपर्ने उहाँले बताउनुभयो ।
सडक पहुँच पुग्न नसकेको छुमरुङस्थित धौलाश्री मावि मतदानस्थलमा ७८५ मतदाता छन् । उक्त मतदानस्थलमा मतदान गर्न जाने मतदाताहरू यस आसपासका क्षेत्र घुर्जुङबाट साढे दुई घण्टा, किम्रुङ खोलाबाट दुई घण्टा, सिनुवाबाट दुई घण्टा पैदल हिँडेर पुग्ने गरेको स्थानीवासी एवं छुमरुङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रका अशक्त मतदाताले घोडाको प्रयोग गरेर मतदानस्थल पुग्ने गरेका छन् ।
जिल्लामा कुल मतदानस्थलमध्ये १३६ वटा विद्यालयमा छन् भने १४ वटा वडा कार्यालय र तीनवटा सामुदायिक भवनमा रहेका छन् । मतदानस्थलको भौतिक पूर्वाधार, सुरक्षा व्यवस्थालगायत विषयमा स्थलगत अनुगमन पनि भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिनुभयो ।
बीचमा माछापुच्छ«े र रुपा गाउँपालिकाका मतदानस्थलको अनुगमन भइसकेको र अन्नपूर्ण तथा पोखरा महानगरका केही मतदानस्थलको अनुगमन हुने क्रममा रहेको उहाँले बताउनुभयो ।