काठमाडौँ, ५ फागुन : काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएको छ । ती मुद्दामध्ये १५९ जघन्य तथा गम्भीर अपराधका रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
गत माघमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २२ मुद्दा रहेका छन् । आर्थिक अपराधका भने ४६६ मुद्दा दर्ता भएको पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अन्य विभिन्न प्रकारका गरेर ३४० मुद्दा दर्ता भएको पनि उहाँले बताउनुभयो । यस बीचमा ‘विशेष अपरेसन’ चलाएर काठमाडौँमा मोटरसाइकलमा चढी सडकमा हिँड्ने व्यक्तिमाथि लुटपाट गर्ने १० जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनतर्फ भने ३६० जनालाई पक्राउ गरी उनीहरूबाट रु दुई करोड २० लाख जरिवाना असुलसमेत भएको प्रहरीले जानकारी दिएको छ । यस्तै चालु मुद्दातर्फ ७०९ जनालाई पक्राउ गरिएको छ । यसमा ६३७ पुरुष छन् ।
महिला बालबालिकासँगसम्बन्धित उजुरी घरेलु हिंसातर्फ १४९ र ठाडो निवेदन ४९ दर्ता हुन आएकामा घरेलु हिंसाका १३१ र ठाडो निवेदनमा ३६ मिलापत्र भएको प्रहरीले पनि प्रहरीले जनाएको छ ।