असोज १२, २०७८ मंगलबार

काठमाडौं विश्वविद्यालयले ५० लाख ५० हजारको नीति अनुसन्धान कोष स्थापना गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानले प्रदान गरेको ५० हजार पुरस्कारमा ५० लाख थप गरी कोष स्थापना गर्ने निर्णय गरेको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले बताए । 

सार्वजनिक नीति–निर्माण र नीति प्रवर्द्धनमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन गठित नीति अनुसन्धान प्रतिष्ठान असोज १० गते आफ्नो स्थापनाको ३ वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । 

यसै सन्दर्भमा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिष्ठानले तीन वर्षमा सम्पन्न गरेको कार्य-प्रगतिको प्रस्तुति, प्रतिष्ठानको पहिलो संस्थागत जर्नललगायत पुस्तकहरूको विमोचन तथा उत्कृष्ट तीन कर्मचारीलाई पुरस्कार वितरणलगायतका कार्यक्रमहरू सम्पन्न भएको छ । उक्त अवसरमा नीति अनुसन्धान र नीति नव–प्रवर्तनको क्षेत्रमा अनुसन्धान र अध्यापनमार्फत उल्लेख्य योगदान पुर्‍‍‍याइरहेको भन्दै काठमाण्डू विश्वविद्यालयलाई ‘नीति सम्मान’द्वारा सम्मानित गरेको थियो । 

नेपाल सरकारको नीति थिंक–ट्याङ्क (विशेषज्ञ समूह) को रूपमा २०७५ असोज १० मा स्थापित नीति अनुसन्धान प्रतिष्ठानमा अनुसन्धान, नीति विश्लेषण, पुस्तकालय व्यवस्थापन तथा सूचना तथा ज्ञान व्यवस्थापन सम्बन्धी स्वदेश तथा विदेशमा उच्च शिक्षा तथा विशिष्टिकृत अनुभव सँगालेका विज्ञ अनुसन्धाताहरु कार्यरत छन् । 

प्रतिष्ठानले नेपाल सरकारले अपनाउने वा अपनाएको विभिन्न नीतिको अध्ययन, विश्लेषण र अनुसन्धान गरी सुधारका लागि नेपाल सरकार समक्ष सिफारिस गर्दछ ।अनुसन्धानद्वारा सिर्जित तथ्य र ज्ञानको आधारमा ज्ञान–सामग्री निर्माण गरी नीतिसंग सरोकार राख्ने अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी, शिक्षक, नीति निर्माता तथा सर्वसाधारण बीच ज्ञानको प्रवाह गर्नु नीति प्रतिष्ठानको कामको अर्को महत्वपूर्ण पाटो हो ।

विश्वविद्यालयमा नीति अनुसन्धानका लागि एउटा विशिष्ट कोष (इण्डाउमेन्ट फण्ड) स्थापना गर्ने घोषणा गरेको छ । 

नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. विष्णु राज उप्रेतीले भने, प्रतिष्ठानले प्रदान गरेको नीति सम्मानको तत्कालीन प्रभावको रुपमा घोषणा गरिएको यो कोष नेपालको नीति नवप्रवर्तनमा कोशेढुंगा साबित हुनेछ ।