फागुन ५, २०८२ मंगलबार

काठमाडौँ, ५ फागुनः विसं २०८२ को वासु रिमाल ‘यात्री’ स्मृति पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख, उपसमाचारदाता सिद्धराज भट्ट र कोशी प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कार्यालय सहयोगी गौरी कारञ्जितलाई प्रदान गरिने भएको छ ।

रासस कर्मचारी सङ्घले प्रदान गर्दै आएको उक्त पुरस्कार यसपटक उहाँहरू दुवैलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरिएको सङ्घका महासचिव छविलाल कुमालले जानकारी दिनुभयो । 

उक्त पुरस्कार राससको ६५औँ वार्षिकोत्सवका अवसरमा यही फागुन ७ गते यहाँ आयोजना हुने मूल समारोहमा वितरण गरिने उहाँले बताउनुभयो । भट्ट विसं २०५२ वैशाख र कारञ्जित विसं २०७१ जेठ महिनादेखि राससमा कार्यरत हुनुहुन्छ । 

पुरस्कारको राशि जनही रु सात हजार ७७७ र सम्मानपत्र रहेको छ । स्व रिमाल सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँलगायत राससमा कार्यरत कर्मचारीको सक्रियतामा विसं २०४७ मा सङ्घको गठन भएको थियो । विसं २०६६ साउनमा दिवङ्गत हुनुभएका रिमालको स्मृतिमा सोही वर्ष पुरस्कार स्थापना गरिएको हो । पुरस्कार कोषमा उहाँकी धर्मपत्नी शारदा रिमालले आर्थिक सहयोग गर्नुभएको सङ्घका अध्यक्ष पवित्रा गुरागाईंले जानकारी दिनुभयो । 

राससको वार्षिकोत्सवका अवसरमा सङ्घले प्रत्येक वर्ष समितिमा कार्यरत कर्मचारीलाई पुरस्कार वितरण गर्दै आएको छ ।