लुम्बिनी, ६ फागुनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारजस्ता पर्वले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गर्नुभएको छ ।
बहुजातीय, बहुभाषिक र बहुधार्मिक हाम्रो मुलुकको संविधानले सबै धर्म, संस्कार र संस्कृतिलाई समान सम्मान दिएको बताउँदै सन्देशमा मुख्यमन्त्री आचार्यले यही समावेशी अभ्यास नै सामाजिक स्थायित्व र सहअस्तित्वका आधार हुन् भन्नुभएको छ ।
मौलिक कला, भाषा र संस्कृति हाम्रो पहिचानका आधारमात्र नभई पर्यटन प्रवर्द्धन र आर्थिक विकासका महत्त्वपूर्ण स्रोतसमेत भएको उहाँले उल्लेख गर्नुभयो । यस्ता सांस्कृतिक पर्वहरूको संरक्षण र प्रवर्द्धनले लुम्बिनी प्रदेशलाई सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।