काठमाडौँ, ६ फागुन (रासस): ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने उखानजस्तै नेपाली क्रिकेट टिमले १२ वर्षपछि पहिलोपटक विश्वकपको खेलमा ऐतिहासिक जित हासिल गर्दै उदाउँदो नेपाल क्रिकेट मुलुक भएको पुष्टि गरेको छ ।
नेपालले सन् २०१४ मा पुरुष ‘टि ट्वान्टी’ विश्वकपमा पहिलो पटकको सहभागिता जनाएको बेलानै हङकङ तथा अफगानिस्तानलाई पराजित गर्न सफल भएको थियो । सन् २०२४ को विश्वकपमा कुनै जित हात पार्न नसकेको नेपालले यसपालि भारत तथा श्रीलङ्कामा जारी रहेको ‘टि ट्वान्टी’ पुरुष विश्वकपका तीन खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिसकेपछि सम्पूर्ण नेपाली टिमका साथै समर्थकहरु स्तब्ध भइसकेका थिए । उज्यालो अनुहार कसैको थिएन तर मङ्गलबार मुम्बईस्थित वानखेडे रङ्गशालामा आयोजित अन्तिम नेपालको सान्त्वना जित भएको हेर्न पाइन्छ कि भन्ने झिनो आशा बोकेर उपस्थित भएका समर्थकहरुले स्कटल्याण्डविरुद्ध सात विकेटको विजयपछि खेलाडीहरुले गुमाइसकेको आत्मसम्मान पुनः फर्काएको महसुस गरेका छन् । उक्त खेलको प्रारम्भमा प्रतियोगिताबाट बाहिरिसकेको अर्को टिम स्कटल्याण्ड हाबी भएता पनि नेपालले पाँच ओभरमा छ विकेट लिएपछि खेल लयमा फर्किएको थियो ।
नेपालका तर्फबाट तीन पटक विश्वकप खेलेका सोमपाल कामीले अन्तिम खेलमा लिएको सर्वाधिक तीन विकेटले नेपाललाई जितको भागीदार बनाउन महत्वपूर्ण योगदान ग¥यो । यस्तै नन्दन यादवले दुई तथा कप्तान रोहित पौडेल, कुशल भुर्तेलले एक एक विकेट लिँदै खेलमा सानदार पुनरागमन गरेका थिए ।
यसैगरी स्कटल्याण्डविरुद्धको खेलमा विष्फोटक ब्याटिङ गरेर मुलुककै लागि पहिलोपटक ‘म्यान अफ दि म्याच’ पुरस्कार प्राप्त गरेका दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी रनले मुलुकलाई ऐतिहासिक जित दिलाउन उत्कृष्ट योगदान दिएको थियो । उनले मङ्गलबार २३ बलमा ५० रन बनाई यसपटकको विश्वकपमा दोस्रोपटक अर्धशतक बनाउने नेपाली कीर्तिमानी खेलाडी बन्न सफल हुनु मुलुककै क्रिकेट इतिहासको महत्वपूर्ण उपलब्धि मानएको छ । यसअघि वेष्ट इण्डिजसँगको खेलमा पनि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएर नेपालको यसअघि रहेको कीर्तिमान तोड्न सफल भएका थिए । सन् २०१४ मा नेपालका तर्फबाट सुभाष खकुरेलले ५६ रन बनाई विश्वकपमा पहिलो नेपाली अर्धशतकको कीर्तिमान कायम गरेका थिए । दिपेन्द्रले भने ४४ बलमा ५८ रन बनाएर अघिल्लो कीर्तिमान तोडेका नेपाली क्रिकेट प्रेमीहरुलाई उत्साहित बनाएका थिए ।
हारैहारपछि प्राप्त भएको जितले नेपाली टिममाथि अत्यधिक मात्रामा भइरहेको आलोचना कम गर्न केही हदसम्म भए पनि कम भएको महसुस गरिएको छ । यसपटकको विश्वकपको अनुभवले नेपालको किक्रेटलाई समयोचित लयमा अघि बढाउन विशेष अभियान नै चलाउनुपर्ने अवस्था सिर्जना भएको छ । मुलुकको प्रतिष्ठासँग गासिएको विश्वकपजस्तो उच्चस्तरीय प्रतियोगितामा नेपालको लगातार लज्जाजनक हार भएपछि अब नेपाल सरकारकै नेतृत्वमा विश्वकपसम्मको यो महत्वपूर्ण यात्रालाई अझ फराकिलो रुपमा निरन्तर अघि बढाउन प्रमुख प्राथमिकता दिनुपर्ने आवश्यकता महसुस गरिएको छ ।
तेस्रो पटक विश्वकपमा प्रवेश पाएको नेपाली टिम यसपालि पहिलोपटक सुपर आठमा पुग्ने लक्ष्य राख्दै मुम्बई पुगेको थियो तर सन् २०१४ पछि १२ वर्षसम्म पनि विश्वकपका कुनै पनि खेल जित्न नसकेर प्रारम्भिक चरणबाटै बाहिरिएपछि निरास भई स्वदेश फर्कने क्रममा रहेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै वाईल्ड कार्डमार्फत विश्वकपमा खेलेको स्कटल्याण्डलाई हार चखाएको थियो ।
इतिहासमै खराब प्रदर्शन
तीन पटक विश्वकप खेलको अनुभव हासिल गरिसकेको नेपाल पहिलोपटक विश्वकपमा प्रतिस्पर्धामा उत्रेको इटालीसँग मुम्बईमा शर्मनाकले पराजित हुनु सामान्य प्रसङ्ग होइन । नेपालले खराब ब्याटिङ प्रदर्शन गर्दा विश्वकपको नयाँ प्रवेशी इटालीसँग हार ब्यहोर्नुपरेको थियो । दुईपटक विश्व विजेता भइसकेको इङ्गल्याण्डसँग चार रनको झिनो अन्तरले मात्र पराजित भएपछि नेपाली टोलीको महत्वाकांक्षा तथा अपेक्षा बढ्दै गएर ‘टि ट्वान्टी’ क्रिकेटमा पहिलोपटक १० विकेटले पराजित हुने अवस्थामा पुगेको थियो । नेपाल इटलीसँगको प्रतिस्पर्धामा १९.३ ओभरमा १२३ रनको सामान्य स्कोरमा अलआउट भएको थियो । नेपाली खेलाडीहरुले प्रभावशाली स्कोर बनाउन नसकेर चुनौतीपूर्ण लक्ष्य दिन नसकेपछि हार ब्यहोर्नु परेको थियो ।
इटलीले भने कुनै पनि विकेट नगुमाएर १२.४ ओभरमा ४४ बल बाँकी रहँदै लक्ष्य हासिल गरेको थियो । इटलीका ओपनर एन्थोनी र जस्टिन मोस्का दाजुभाइबीचको १२४ रनको साझेदारी विजयको प्रमुख कारक बन्न पुग्यो । मानसिक दृढता कमी भएको नेपाली टिम ब्याटिङ, बलिङ र फिल्डिङमा सुस्त प्रदर्शनको कारण हार्न पुग्यो । नेपाली खेलाडीहरुलाई जित्नै पर्ने मानसिक दबाब प्रसस्त मात्रामा परेको महसुस गरिएको थियो । नेपालको ब्याटिङ र बलिङ दुवैमा रणनितिक कार्यान्वयनको समस्या देखिएको थियो । नेपालको ब्याटिङ पतन र कम योगफलको तुलनामा इटलीको क्लिनिकल र अनुशासित बलिङले नेपाललाई सहजै पराजयको बाटोतर्फ उन्मुख गराएको थियो । त्यसपछि नेपाल वेष्ट इण्डिजसँग नौ विकेटले भएको पराजयलाई पनि नेपाली खेलप्रेमीहरुले सहज रुपमा लिन सकिरहेका छैन । उत्कष्ट लयमा रहेको वेष्ट इण्डिज नेपाललाई हराएपछि अघिल्लो चरण सुपर आठमा प्रवेश गर्न सफल भएको थियो ।
हारेर पनि मन जित्दा
नेपाल र इङ्गल्याण्डबीचको खेललाई नेपालले हार्दाहार्दै पनि मन जितेको खेलका रुपमा अविस्मरणीय बन्न पुग्यो । नेपालले यसपालि विश्वकपमा खेलेको उक्त पहिलो प्रतिस्पर्धामा राम्रो खेल प्रदर्शन गर्दा गर्दै पनि हार्न पुगेको प्रसङ्गलाई नेपाली क्रिकेटप्रेमीहरुले भुल्न सकेका छैनन् । दुईपटक विश्वकप जितिसकेको इङ्ल्याण्डसँग नेपाल खेलमा हारेर पनि सम्पूर्ण नेपालीको मन जित्न सफल भएको थियो । उक्त खेलमा नेपालले पूरै खेल अवधिभर क्रिकेटको जन्मदाता मुलुकलाई पूरै चुनौती दिँदादिँदै पनि चार रनको झिनो अन्तरले पराजित हुन पुगेको थियो । क्रिकेटको उदाउँदो मुलुकको रुपमा परिचय बनाउन सफल नेपाल विश्वकपमा समेत कमजोर टिम नभएको महसुस गराएको थियो ।
नेपाली समर्थकहरुले खचाखच भरिएको वानखेडे रङ्गशालामा नेपाली खेलाडी लोकेश बमले बनाएको २० बलमा ३९ रन प्रशंसनीय थियो तर इङ्गल्याण्डका ह्यारी ब्रुक र ज्याकब बेथेलेले बनाएको अर्धशतकले खेलमा नेपाललाई हराउन उल्लेखनीय भूमिका खेल्यो । त्यसखेलमा नेपाललाई जितको बाटोमा अघि बढाएका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएपछि नेपालको प्रदर्शन सुस्त हँुदै गएको थियो । अन्तिम ओभरमा १० रन आवश्यक भएको बेला करण केसीको बलिङले बाउन्ड्री पार गर्न नसक्दा नेपाल छ रन मात्र बनाएर निराशाजनक नतिजा व्यहोर्न बाध्य भएको थियो ।
बिर्सन कठिन समर्थन
विश्वकप क्रिकेट हेर्न विभिन्न मुलुकका दर्शकहरु भारत तथा श्रीलङ्का पुगेका छन् । नेपालको चारवटै खेल खेलाइएको मुम्बई पुगेका नेपाली दर्शकहरुको सङ्ख्या पनि उल्लेखनीय रहेको थियो । प्रतियोगिता हेर्न नेपालबाट समेत हजारौँ दर्शक पुगेका थिए । भारतका विभिन्न स्थानका साथै विश्वका अन्य मुलुकबाट समेत नेपालीहरु मुलुकको टिमको समर्थन गर्न त्यहाँ उपस्थित भएका थिए । मुम्बईस्थित वानेखेडे रङ्गशालामा नेपालको खेल परेका दिनहरुमा देखिएको राताम्मे दृष्यले विश्वकै क्रिकेटप्रेमीहरुलाई उत्साहित बनाएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको रातो जर्सी लगाएर दर्शक दिर्घामा बसेका असङ्ख्य समर्थकहरुले नेपालको पक्षमा नारा लगाउँदै रङ्गशाला गुन्जायमान गराएका थिए । विभिन्न नेपाली गीत तथा नृत्यहरुको मनमोहक प्रदर्शनले वातावरण रोचक बनाएको थियो । नेपालतथा इङ्गल्याण्डबीच खेल भएको दिन रङ्गशालामा २० औँ हजार दर्शकको उपस्थिति रहेको थियो । भारतीय भूमिमा भारतको खेल नभएको बेलामा पनि त्यति धेरै सङ्ख्यामा दर्शकको उपस्थितिलाई देखेर नेपाली दर्शकको क्रिकेटप्रतिको मोह भन्दै टेलिभिजनको प्रत्यक्ष प्रसारणमा प्रशंसा गरिएको थियो । रङ्गशालामा प्रत्यक्ष उपस्थिति बाहेक टेलिभिजन प्रत्यक्ष प्रसारण तथा डिजिटल प्लेटफर्म माध्यमबाट विश्वभरि छरिएका लाखौँ नेपालीले खेल हेरेर क्रिकेटको बढदो लोकप्रियताप्रति ऐक्यबद्धता जनाएका थिए तर नेपाली टिमको लगातार पराजयपछि मुम्बई पुगेका नेपाली दर्शकहरु भने निरास भएका थिए । लाखौँ रुपैयाँ खर्च गरेर विदेशी भूमिमा पुगेका नेपाली खेलप्रेमीहरुले टिमप्रति आक्रोस समेत प्रकट गरेका थिए ।
नेपालको यसपालि तीन खेलमा पराजयको मुख्य कारण टिममाथि जित्नै पर्छ भन्ने दबाब मानिएको छ । फेरि इङ्गल्याण्डसँग थोरै रनको अन्तरले पराजित भएपछि नेपाली टिमको महत्वकांक्षा बढेको तथा तद्अनुरुप मैदानमा प्रस्तुत हुन नसक्दा हार ब्यहोर्नु परेको हो । नेपालले विश्वकप प्रतियोगितामा भोगेकोजस्तो हार आगामी दिनमा दोहरिन नदिन केही महत्वपूर्ण पक्षमा सुधार गर्नु पर्ने अत्यन्त जरुरी देखिएको छ । खेलमा हार जित स्वभाविक भए तापनि योजना र तयारी बलियो बनाउँदै परिमाणमा सुधार गर्न सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने देखिन्छ । यसका लागि सरकारबाट यथेष्ट लगानीका साथै क्रिकेटलाई उच्च प्राथमिकता दिदै समयोचित योजना बनाई कार्यान्वयनतर्फ जोड दिनुपर्ने आवश्यकता महसुस गरिएको छ ।
सुधारको खाँचो
नेपाली टिममा ब्याटिङ, बलिङ तथा फिल्डिङजस्ता क्षेत्रमा अझ सुधार गर्नुपर्ने देखिएको छ । खेलाडीहरुमा ब्याटिङमा स्थिरता जरुरी देखिन्छ । यसक्रममा सुरुआती विकेट जोगाउने तथा मध्य तथा अन्तिम ओभरमा रन गति कायम राख्न जोड दिनु अत्यावश्यक छ । डेथ ओभर बलिङ अझ प्रभावकारी बनाउने, क्याच, ड्रप तथा मिसफिल्ड कम गर्ने, रणनीतिक फिल्ड सेटिङमा जोड दिनुपर्छ । विपक्षी टिमको खेल शैलीको अध्ययन गर्नुका साथै खेलको बीचमा पनि रणनीति परिवर्तन गर्नसक्ने क्षमताको विकास पनि आवश्यक भएको महसुस गरिएको छ । प्रतियोगिता सञ्चालन भइरहेको मौसम तथा प्रतियोगिता भइरहेको पिच अनुसारको योजना बनाउनु पनि अत्यावश्यक देखिएको छ ।
टिममा परिवर्तन जरुरी
नेपाली राष्ट्रिय क्रिकेट टिममा समयानुकूल परिवर्तन गर्नु पर्ने आवश्यक देखिएको छ । खेलाडीहरुको व्यक्तिगत प्रदर्शनको उपलब्धि तथा समग्रमा सकारात्मक नतिजाका लागि खेलाडीले खेलेको भूमिकाको आधारमा राष्ट्रिय टिमका प्रत्येक सदस्यहरुको मूल्याङ्कन गरिनु जरुरी मानिएको छ । विगतको इतिहासले मात्र वर्तमान अवस्थामा उपलब्धि हासिल गर्न सकिँदैन । खेलाडीको उमेर, शारीरिक तन्दुरुस्ती, विगतको अनुभव, हालको सक्षमता तथा समग्र टिमलाई गर्नसक्ने योगदान जस्ता आधारमा खेलाडीको स्वतन्त्र रुपमा परिवर्तन गर्न मुख्य प्रशिक्षकलाई जिम्मा दिनुपर्छ । राष्ट्रिय क्रिकेट टिममा सही ढङ्गले परिवर्तन गरियो भने नेपाली क्रिकेटको भविश्य अझ उज्वल बन्न सक्ने सम्भावना देखिन्छ । राष्ट्रिय टिमको व्यवस्थापन र रणनीतिमा सुधारका साथै टिममा पनि परिवर्तन आवश्यकता भएको महसुस विश्वकपको नतिजाले देखाएको छ । टिमले निरन्तर राम्रो नतिजा दिन नसकेको अवस्थामा प्रदर्शनमा निरन्तरता ल्याउन पनि परिवर्तन आवश्यक देखिन्छ । टिममा परिवर्तन गर्दा सकारात्मक नतिजा हासिल गर्न वातावरण बन्नुका साथै अन्य प्रतिभाशाली युवा खेलाडीले पनि मौका पाउँछन्, जसले टिम अझ प्रतिस्पर्धी बन्न सक्छ ।
मानसिक तयारीको सन्दर्भ
कुनै पनि प्रतियोगिता खेल्न खेलाडीहरु जानुअघि उनिहरुलाई मानसिक रुपमा तयारी बनाउनु पर्दछ । उनीहरुलाई परिस्थितिअनुसार सामना गर्ने, जुनसुकै खालका दवावलाई ब्यहोर्न सक्नेजस्ता प्रशिक्षण दिई मैदानमा पठाइनुपर्छ । खेलका लागि उनीहरुलाई कुनै प्रकारको दबाब दिनुहँुदैन । खेलाडीलाई परिस्थितिअनुसार निर्णय लिन स्वतन्त्र बनाइनु आवश्यकता पर्दछ । जसरी भए पनि खेल जित्नै पर्ने, खेल जितेमा रोजगार, आकर्षक नगद पुरस्कार दिइनेजस्ता आश्वासनले खेलाडीहरुलाई खेल जित्नै पर्ने दबाब पर्न जान्छ, जसले नतिजा नकारात्मक आउनसक्ने बढी सम्भावना हुन्छ । वर्षभरिको अनवरत यात्रापछि भारत पुगेका नेपाली खेलाडीहरुमा मैदानमा भिडन्तका लागि यथेष्ट मात्रामा कमी कमजोरी देखियो, जुन लगातार हारका लागि यथेष्ट बन्न पुग्यो ।
समस्या सामाजिक सञ्जालको
विश्वकपमा नेपालको पराजयको अर्को नौलो कारण उजागर भएपछि नेपाली खेलप्रेमीहरुलाई अझ स्तब्ध बनाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकपको प्रारम्भिक चरणमा लगातार पराजय हुँदै गएपछि यसको प्रमुख कारणमा सामाजिक सन्जाल पनि भएको भन्ने सम्बन्धित प्रशिक्षककै धारणा सार्वजनिक भएको थियो । अष्ट्रेलियाको प्रतिनिधित्व गरेर विश्वकप खेलिसक्नुभएका नेपालका वर्तमान मुख्य प्रशिक्षक स्टुअर्ट लले नेपाल लगातार पराजित हुँदै गएपछि खेलाडीहरुलाई सामाजिक सञ्जाल छोडेर क्रिकेटमा ध्यान केन्द्रित गर्न आग्रह गर्नु भएको थियो । वेष्ट इण्डिजसँगको खेलको पूर्वसन्ध्यामा मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सामाजिक सन्जालमा भइरहेका टीकाटिप्पणीलाई खेलाडीहरुले ध्यान दिन नहुने स्पष्ट पार्नु भएको थियो ।
हाल सञ्चालन भइरहेको विश्वकपमा नेपाली टिमको बारे मानिसहरुले के भनिरहेका छन् भन्ने कुरामा खेलाडीहरुको ध्यान केन्द्रित भए उनीहरु वास्तविक कामबाट विचलित हुने धारणा मुख्य प्रशिक्षक लको रहेको थियो । खेलाडीहरु आफूलाई समर्थन तथा प्रायोजक प्राप्त गर्न पनि सामाजिक सञ्जालकै भरपर्ने मुख्य प्रशिक्षकको आरोप रहेको थियो । मुख्य प्रशिक्षकको आरोपलाई गम्भीरतापूर्वक लिएर नेपाल क्रिकेट सङ्घ क्यानले खेलाडीहरुले सामाजिक सञ्जालको प्रयोग कुन बेला, कस्तो अवस्थामा तथा कतिबेर गर्न पाउनेजस्ता नियम बनाउनु जरुरी देखिएको छ । झन विश्वकपजस्तो महत्वपूर्ण प्रतियोगिता खेलिरहेको टिमका खेलाडीहरुलाई मुख्य प्रशिक्षकले लगाएको आरोपलाई सरल रुपमा लिन हँुदैन ।
विज्ञको सुझाव
क्रिकेट खेलका अन्तरराष्ट्रिय कमेण्टेटर एण्डु« लियोनार्डले विगत केही वर्षदेखि नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहनुभएको छ । नेपाली क्रिकेट टिमलाई अत्यन्त माया गर्ने व्यक्तिका रुपमा परिचय बनाउनुभएका एण्ड्रुले नेपालको ब्याटिङमा अझ बढी स्थिरता हुनुपर्ने सुझाव दिनुभएको छ । सामाजिक सञ्जालमा धारणा व्यक्त गर्दै उहाँले बलिङ समूहले पनि विकेट खोज्नु सट्टा दबाब सिर्जना गर्न योजनाहरुमा राम्रोसँग अडिग रहनु आवश्यक भएको स्पष्ट पार्नुभएको छ । यस्ता सुझावलाई सकारात्मक रुपमा ग्रहण गरी टिमलाई आवश्यक सुधार गर्न क्यानले ढिलो गर्न हँुदैन ।
तीनपटक विश्वकपमा प्रवेश पाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमको आगामी दिनका लागि पनि क्षमता र सम्भावना राम्रो भएको आकलन गर्न सकिन्छ तर तेस्रोपटकको प्रतिस्पर्धामा लगातार हारले हतास बनाएको नेपाली टिमलाई अन्तिममा भएको एउटा जितले भए पनि उत्साहित बनेर घर फर्किने वातावरण बनाएको छ । यसपटकको नतिजाले क्यानसामु अझ धेरै चुनौती थपिएका छन् । यसपालिको प्रतियोगिताको क्रममा देखिएको गल्ती तथा कमजोरीलाई सुधार गर्न क्यानले ढिलो गर्नु हुँदैन । रणनीतिक सुधार र निरन्तर अभ्यासले नेपाली टिमलाई गतिशीलताको बाटोतर्फ अग्रसर गराउँदै लैजाने विश्वास गर्न सकिन्छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बईमा हासिल गरेको नतिजालाई भोलिका दिनमा सुधार गर्नका लागि गम्भीर पाठका रुपमा लिएर यथोचित योजनाका साथ अघि बढेमा लज्जित हुनुपर्ने अवस्था पुनः नदोहोरिने कुरामा आशावादी हुन सकिन्छ ।