फागुन ६, २०८२ बुधबार

काठमाडौँ, ६ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले  देशमा सुशासन स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको छ । जनकपुरको तिरूहुतिया गाछीमा आज आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उहाँले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको दाबी गर्नुभयो ।

सभापति थापाले भन्नुभयो, “मधेशबाट कांग्रेसले देश बदल्ने सहास लिएको छ । आट लिएको छ । अब मधेसले देशको सङ्घीयतालाई कार्यान्वयन गराउन जरूरी छ ।” उहाँले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परिवर्तिन गर्नुपर्ने बताउनुभयो । 

    उहाँले भन्नुभयो, “मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेसका शिक्षकले पढाएका हुन् । उहाँकै शिक्षाले देश शिक्षित भएको छ । तर आज मधेसको  शिक्षा, स्वास्थ्य र बिमाको  अवस्था जरजर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावर्यावरणको अवस्था भयावह छ ।  खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ ।”

    सभापति थापाले सिङ्गो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने मधेस बनाउने कांग्रेसले प्रतिज्ञा गरेको बताउनुभयो । उहाँले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह  गर्ने व्यवस्था गर्ने उल्लेख गर्नुभयो ।  सभापति थापाले भन्नुभयो, “अब मधेश वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ ।”

    सभापति थापाले मधेसको वित्तीय संरचना खल्बलिएकाले यहाँका सहकारी ठगलाई तह लगाउन कांग्रेस मधेस आएको बताउनुभयो । “यहाँको वित्तीय संस्था खल्बलिएको छ”, उहाँले भन्नुभयो, “सहकारी ठगको बिगबिगी बढेको छ । सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेस झरेको छु ।”

    सभापति थापाले मधेसका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकोले यहाँ क्रिकेट एकाडेमी  बनाउने रहेको बताएका छन् । उहाँले भन्नुभयो, “मैले  यहाँका युवाको क्रिकेटको सपना पूरा गर्न चाहन्छु ।” उहाँले आफू मधेसको बेटा बन्न आएको भन्दै दुर्गानन्दको सहास, कुशेश्वरको रगतको सम्मान र महेन्द्रनिधिको जीवनशैली रहेकोले यहाँ आफू मधेसमा आएको बताउनुभयो । कांग्रेस पखालिएर जनविश्वास लिन मधेस आएको सभापति थापाले बताउनुभयो । “अब हामी मत मात्रै होइन विश्वास र भरोसा लिन आएक छौँ । देशलाई सँगसँगै हिँडाउन र परिवर्तन देख्न आएको हुँ । म सबै युवाको सपना पूरा गर्न र युवाहरूको साँझा पार्टी बनाउन आएको हुँ”, उहाँले भन्नुभयो ।