काठमाडौँ, ७ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
यस अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “आजको दिनले हामीलाई संविधानमा निहित सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र कानुनी राज्यलाई अक्षुण्ण राख्दै गरिबी, अशिक्षा, बेरोजगारी एवं विभेद अन्त्य गर्ने दिशामा एकजुट भएर अघि बढ्न प्रेरित गर्दछ । लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक सबैले आदर्श आचरण, सकारात्मक सोच र जिम्मेवारपूर्ण व्यवहारलाई आत्मसात् गर्न आवश्यक छ ।”
प्रजातन्त्र दिवसले नागरिक अधिकारको रक्षा, समान अवसरको सुनिश्चितता, सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सम्बद्ध सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा उपराष्ट्रपतिले जोड दिनुभएको छ ।