महेन्द्रनगर (धनुषा), ७ फागुनः मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र मान्यता सुदृढ गर्न आह्वान गर्नुभएको छ ।
आज दिनुभएको शुभकामना सन्देशमा उहाँले निरङ्कुश जहानियाँ शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । विसं २००७ को क्रान्तिले स्थापना गरेको प्रजातन्त्रको जगमा उभिएर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रलाई अझ समावेशी र जीवनमुखी बनाउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेकामा जोड दिनुभयो ।
प्रदेश प्रमुख कर्णले मधेस बलिदानी भूमिको रूपमा सधैँ न्याय, समानता र पहिचानका पक्षमा अग्रपङ्क्तिमा उभिँदै आएको उल्लेख गर्दै प्रदेशको सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई सुदृढ गर्दै समतामूलक समाज निर्माणमा एकताबद्ध हुन आग्रह गर्नुभयो । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउँदै उहाँले निर्वाचनमा विवेकपूर्ण र सक्रिय सहभागिता जनाउन सबैमा अनुरोध गर्नुभयो ।
प्रदेश प्रमुख कर्णले लोकतन्त्रले दिएको अधिकारसँगै नागरिक दायित्वसमेत इमान्दारीपूर्वक पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रजातन्त्र दिवसले आपसी सद्भाव, भ्रातृत्व र विकासको साझा सङ्कल्पलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।