फागुन ७, २०८२ बिहिबार

कैलाली, ७ फागुनः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन र समृद्धिको बाटोमासँगै हिँड्न सबै नेपालीलाई प्रेरेणा प्रदान गरोस् भनी शभकामना दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र रहेको धारणा राख्नुभयो ।

    मुख्यमन्त्री शाहले संविधानको रक्षा, लोकतन्त्रको सुदृढिकरण, राजनीतिक स्थायित्वको लागि निर्वाचन बाहेक अर्को विकल्प हुनै नसक्ने बताउनुभयो । उहाँले नेपालको सार्वभौसत्ता, भौगोलिक अखण्डता, राष्टिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्नुहुँने सबैप्रति सम्मान प्रकट गर्नुभयो ।

    विसं २००७ को क्रान्तिबाट १०४ वर्ष लामो निरङ्कुश शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।

आजको दिन ऐतिहासिक होः मुख्यमन्त्री कँडेल 

    कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय प्रजातन्त्रको अवसरमा आयोजित कार्यक्रममा आजको  दिनमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्र तथा विभिन्न सामाजिक आन्दोलनमा आफ्नो अमूल्य भएको बताउनुभयो ।

    नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनका सहिदपरिवार, बेपत्ता, घाइते एवम् अङ्गभङ्ग हुनुभएका व्यक्तित्व, आन्दोलनमा अगुवाइ गर्ने सम्पूर्णमा सम्मान व्यक्त गर्दै जनसमुदाय, नागरिक समाज, राजनीतिक कार्यकर्ता, सबै क्षेत्र वर्ग र समुदायको योगदानको उच्च प्रशंसा गर्नुभयो । 

प्रजातन्त्र जनताको सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएकाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण रहेको मुख्यमन्त्री कँडेलले धारणा राख्नुभयो । उहाँले आजको यस दिनले नागरिक अधिकारको महत्व स्थायी बनाउने र हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्दै नागरिकका अपेक्षा पूरा गर्ने मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र नेपाली जनता आफैले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग विसं २००७ को क्रान्ति रहेको भन्दै यस दिनलाई नेपालीले बिर्सन नहुने उहाँको भनााइ छ । “प्रजातन्त्र केवल शासन व्यवस्था मात्र होइन, यो जनताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र सामाजिक न्यायको आधार हो । विगतका सङ्घर्षले हामीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म पु¥याएको छ”, उहाँले भन्नुभयो ।

    प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, पारदर्शीता, विकास र समृद्धिको दिशामा दृढतापूर्वक अघि बढ्न मुख्यमन्त्री कँडेलले सबैलाई आह्वान गर्नुभयो । 

“गत भदौ २३ र २४ गतेको घटनापछि यतिबेला हामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा छौँ । निर्वाचनलाई प्राप्त उपलब्धिको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा लिनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । 

    यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन उहाँले सबैमा आग्रह गर्नुभयो ।