फागुन ८, २०८२ शुक्रबार

काठमाडौँ, ८ फागुनः नेपाल–पोर्चुगल द्विपक्षीय  परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा रहनुभएका परराष्ट्र मन्त्रालयका सचिव  अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा अना इसाबेल जेभियरले बिहीबार विशेष समारोहका बीच लिस्बनस्थित नेपाली दूतावासको चान्सरीको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । 

त्यस अवसरमा परराष्ट्र सचिव राईले दूतावासको  स्थापनामा पोर्चुगल सरकारले गरेको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । दूतावासले दुवै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सेतुका रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उक्त दूतावासका अनुसार पोर्चुगलका परराष्ट्र सचिवले पोर्चुगलमा नेपाली दूतावासको आतिथ्य पाउँदा खुसी व्यक्त गर्दै दूतावासको सहज सञ्चालनका लागि पोर्चुगल सरकारले  निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

लिस्बनस्थित कूटनीतिक समुदायका ‘डिन’ एन्ड्रेस कारास्कोसा कोसोले कूटनीतिक ‘कर्पस्’मा नयाँ सदस्यका रूपमा नेपाली राजदूत प्रकाशमणि पौडेलाई स्वागत गर्नुभयो । 

बिहीबार साँझ नेपाली दूतावासले ७६ औँ प्रजातन्त्र दिवसका अवसरमा पोर्चुगलमा रहेका आप्रवासी तथा नेपाली समुदायका संस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा स्वागत समारोह पनि आयोजना गरेको थियो ।