काठमाडौँ, ८ फागुनः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु सहनशील वित्त पोषणले सडक भवनमै सीमित नगरी महिलाद्वारा सञ्चालित उद्यम, लैङ्गिक संवेदनशील पूर्वाधार र सामुदायिक संरक्षणमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
यहाँ आज नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्धारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी, २०८२’ मन्त्री श्रेष्ठले जलवायु परिवर्तनले पर्यटनमा प्रत्यक्ष असर पार्दा सबैभन्दा बढी मार महिलामाथि परेको भन्दै महिला केन्द्रीत लगानीमा जोड दिनुभएको हो । गोष्ठीमा ‘जलवायु, समुदाय र महिलाः जलवायु सहनशील तथा समावेशी पर्यटनका लागि वित्त पोषण अपरिहार्य’ विषयक सामूहिक छलफलमा सहभागी हुँदै उहाँले पर्यटनबाट प्राप्त आम्दानीलाई सामूहिक सहनशीलतासँग जोड्दै संरक्षणकर्तालाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“वित्त पोषण भनेको केवल सडक र भवन निर्माण मात्र होइन, विशेष गरी महिलामा लगानी हुनुपर्छ,” मन्त्री श्रेष्ठले भन्नुभयो, “महिलाद्वारा सञ्चालित उद्यममा सहज पहुँचयोग्य जलवायु कोष, सहकार्य सुदृढीकरण, पानी तथा नवीकरणीय ऊर्जा जस्ता लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी र वन पदमार्ग, पानी स्रोत तथा सांस्कृतिक सम्पदा संरक्षणमा महिलाले गरेको योगदानको मान्यता आवश्यक छ ।”
मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरोका कारण ट्रेकिङ पदमार्ग अवरुद्ध हुनु, पर्यटकीय क्षेत्रमा पानीको अभाव, जैविक विविधता क्षय र सम्पदामा क्षति जस्ता घटनाले पर्यटनलाई बढ्दो रूपमा प्रभावित गरिरहेकोबारे चिन्ता व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले धेरै पर्यटन निर्भर समुदायमा महिला औपचारिक र मौसमी आम्दानीमा निर्भर रहेको उल्लेख गर्दै होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, होटल तथा जल क्षेत्रमा काम र सांस्कृतिक सेवा प्रदानमार्फत जीविकोपार्जन गर्दै आएको बताउनुभयो ।
“जब पर्यटन घट्छ, त्यसको बढी असर महिलामा पर्छ,” मन्त्री श्रेष्ठले भन्नुभयो, “जलवायु परिवर्तनले पर्यटनमा असर गर्दा यिनै आयस्रोतमा निर्भर महिलामुखी परिवार विशेष रूपमा प्रभावित हुन्छन् ।”
मन्त्री श्रेष्ठअनुसार महिलाहरू वित्तीय पहुँच सीमित, जमिन स्वामित्व न्यून र अनौपचारिक वा कम पारिश्रमिक क्षेत्रमा सीमित हुने भएकाले बढी जोखिममा छन् । “यो केवल वातावरणीय मुद्दा होइन, लैङ्गिक न्यायको प्रश्न पनि हो,” उहाँले स्पष्ट पार्नुभयो ।
महिलाद्वारा सञ्चालित व्यवसायमा कति लगानी भइरहेको छ भन्ने मापन कठिन भएको छलफलका क्रममा चर्चा गरिएको थियो । ग्रामीण पर्यटन अर्थतन्त्र धेरै हदसम्म अनौपचारिक रहेको उल्लेख गर्दै उहाँले धेरै महिला औपचारिक दर्ताबिना होमस्टे सञ्चालन र सामाजिक सुरक्षाबिना मौसमी काममा संलग्न रहेकाबारे समेत उहाँले आफनो भनाइ राख्नुभयो ।
मन्त्री श्रेष्ठले पर्यटन पूर्वाधार र योजनामा सुरक्षा, सरसफाइ तथा ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिको पहुँचलाई बेवास्ता गरिएकाप्रति चासो व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका कारण बसाइँसराइ बढ्दा पुरुषहरू रोजगारीका लागि बाहिरिने र महिलाहरूले घरखेती तथा सामुदायिक विपद् व्यवस्थापनको त्रिगुणीय बोझ बोक्नुपरेको उहाँले औँल्याउनुभयो ।
“यस्तो अवस्थामा पर्यटन महिलाका लागि जीवनरेखा बन्छ, त्यसैले उनीहरूलाई अर्थतन्त्रसँग प्रत्यक्ष जोड्न आवश्यक छ,” मन्त्री श्रेष्ठले भन्नुभयो ।
सामुहिक छलफलका क्रममा अनियमित वर्षा र बेमौसमी हिमपातका कारण ट्रेकिङ सिजन प्रभावित भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मुख्य याम मानिने अक्टोबरमै वर्षा र हिमपातले पर्यटकको बसाइँ अवधि र छुट्टी योजनामा अनिश्चितता बढाएको बताउनुभयो । “यसले हाम्रो बजार रणनीतिलाई नै चुनौती दिएको छ,” उहाँले भन्नुभयो ।