म्याग्दी, १० फागुन : प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक फरक नयाँ दृश्यहरू देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारलाई स्थानीयले आर्थिक सहयोग गर्ने, एउटै मञ्चबाट दुई पार्टीका उम्मेदवारले मत माग्नेदेखि चुनावी प्रतिबद्धता पूरा गरेकामा विपक्षी पार्टीका जनप्रतिनिधिका नेतृत्वमा पूर्वसांसदलाई सम्मान गरेका हुन् ।
अनौपचारिक शैलीमा टोलटोलमा पुगेर चुनाव प्रचार गरिरहनुभएका स्वतन्त्र उम्मेदवार डा महावीर पुनलाई विभिन्न ठाउँमा आमा समूह र स्थानीयवासीले स्वस्फूर्त रूपमा आर्थिक सहयोग गरिरहेका छन् ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर पुख्र्यौली थलो म्याग्दीमा प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धाका लागि होमिनु भएका पुनलाई उहाँको जन्मथलो अन्नपूर्ण गाउँपालिका–८ नागी, मालिका गाउँपालिका–५ पन्थोक, ४ च्युरीबोटलगायत ठाउँमा मतदाताले स्वस्फूत आर्थिक सहयोग गरेका छन् ।
“कतिपयले चुनाव जित्न मतदातालाई पैसा बाँडेको चर्चा हुने गरे पनि मलाई उल्टै मतदाताहरूले नै आर्थिक सहयोग गरिरहनुभएको छ”, चुनावी अभियानका क्रममा धवलागिरि गाउँपालिका–६ मराङमा पुगेका पुनले भन्नुभयो, “हालसम्म रु १५ लाख सहयोग पाएको छु । प्राप्त सहयोग रकमको हिसाब चुनावपछि सार्वजनिक गर्नेछु ।”
केही दिनअघि फरकफरक पार्टीका दुई जना उम्मेदवारले एउटै मञ्चबाट मत मागेको अन्नपूर्ण–१ दोवामा शनिबार चुनावी प्रतिबद्धता पूरा गरेको जनाउँदै नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्षका नेतृत्वमा स्थानीयवासीले तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गण्डकी प्रदेशका पूर्वसांसद विनोद केसीलाई सम्मान गरेका छन् ।
एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप)ले गत माघ २७ गते दोवामा मतदाता भेटघाट र आफ्ना विचार व्यक्त गर्न एउटै मञ्च प्रयोग गर्नुभएको थियो । सोही स्थानमा शनिबार नेकपाका उम्मेदवार अर्जुन थापालाई लिएर चुनाव प्रचारका लागि पुग्नुभएका २०७४ सालमा म्याग्दी १(क) बाट निर्वाचित प्रदेश सांसद केसीलाई एमालेबाट निर्वाचित वडाध्यक्ष दिलीप गर्बुजाको नेतृत्वमा सम्मान गरेका हुन् ।
पूर्वसांसद केसीले २०७४ सालको चुनाव प्रचारका क्रममा दोवामा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधाको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो । आर्थिक वर्ष २०७५÷७६ देखि प्रदेश सरकारमार्फत सुरु भई करिब रु पाँच करोड लगानीमा गत वर्ष सम्पन्न भएको दोवा खानेपानी योजनाबाट ४२२ घरपरिवार लाभान्वित भएका छन् ।
मतदानको मिति नजिकिँदै गर्दा जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारहरूले एकै दिन तीनदेखि छ ठाउँमा चुनावीसभा र नेता, कार्यकर्ता टोलटोलमा पुगेर घरदैलो गर्न थालेपछि ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ । उम्मेदवारले घरदैलोदेखि सामाजिक सञ्जाललाई चुनाव प्रचारको माध्यम बनाएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका राजनीतिक विश्लेषक लक्ष्मण शर्माले बताउनुभयो ।
उहाँले राजनीतिक दलका उम्मेदवारहरूको साङ्गठनिक विरासत, विगतका कामको मूल्याङ्कन र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धाका रूपमा लिइएको बताउनुभयो । छ स्थानीय तह रहेको जिल्लामा ८६ हजार ३९७ जना मतदाता, ८२ मतदानस्थल र १२० मतदान केन्द्र रहेका छन् ।
जिल्लाका उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने, ढिलासुस्ती हटाउने, कानुन, बजेट र योजनामा जिल्लावासीको भावना, माग र आवश्यकतालाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।