काठमाडौँ, १० फागुनः सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जेनजी आन्दोलनका क्रममा छुट भएका घाइतेको विवरण उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई तत्काल स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो ।
उहाँका अनुसार जेनजी आन्दोलनका घाइतेहरूको उपचार र रातहलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ गतेभित्र घाइतेको विवरण उपलब्ध गराउने निर्णयनुसार मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले घाइतेहरूको सूचीकरण र वर्गीकरण पुनःवर्गीकरणसम्बन्धी कार्य समयमा सक्नका लागि यही फागुन १ देखि १५ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको बताउनुभयो । उहाँले फागुन १५ गतेभित्र आएका निवेदन उपर छानबिन गरी घाइतेको अन्तिम नामावली सार्वजनिक गरिने जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार अहिलेसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण उपलब्ध भएको छ । उहाँले जेनजी प्रदर्शनका क्रममा धेरै घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बताउनुभयो ।
सरकारले जेनजी प्रदर्शनका क्रममा अतिगम्भीर वर्गीकरणमा परेकालाई र ती घाइतेलाई स्याहार गर्नेलाई मासिक रु नौ हजार, गम्भीर घाइतेलाई मासिक रु नौ हजार र मध्यम घाइतेलाई मासिक रु चार हजार उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।