फागुन १०, २०८२ आइतबार

दमौली (तनहुँ), १० फागुनः यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । तनहुँका दुवै क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र शनिबार आइपुगेको हो । 

तनहुँ क्षेत्र नं १ को मतपत्र दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को मतपत्र दुलेगौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा राखिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले जानकारी दिनुभयो । 

क्षेत्र नं १ प्रत्यक्षतर्फ एक लाख ३६ हजार र समानुपातिकतर्फ एक लाख ४२ हजार मतपत्र आएको छ । क्षेत्र नं २ प्रत्यक्षतर्फ एक लाख ३७ हजार र समानुपातिकतर्फ पनि एक लाख ३७ हजार मतपत्र आइपुगेको निर्वाचन अधिकारी लम्सालले बताउनुभयो । 

निर्वाचनका लागि आवश्यकपर्ने अन्य सामग्री पनि व्यवस्थापनको काम सकिएको छ । निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्ति भई अब तालिम सञ्चालन गर्न लागिएको छ । 

लम्सालका अनुसार क्षेत्र नं १ का कर्मचारीका लागि फागुन ११ र क्षेत्र नं २ का कर्मचारीका लागि फागुन १२ गते तालिम सञ्चालन हुनेछ । निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको लम्सालले बताउनुभयो । 

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २६ हजार ८८२ र क्षेत्र नं २ तर्फ एक लाख २७ हजार ५१५ मतदाता कायम भएका छन् । क्षेत्र नं १ मा पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ । क्षेत्र नं २ मा पुरुषको सङ्ख्या ६१ हजार ७१३ र महिलाको सङ्ख्या ६५ हजार ८००  दुई रहेको छ । 


क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नं ५ र ६ पर्दछ ।

मतदाता शिक्षा सञ्चालनका लागि स्वयंसेवक परिचालन

निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालन गरिएको छ । निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्लाका दशवटै पालिकामा स्वयंसेवक परिचालन गरिएको हो । 

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल केसीले छ वटै वडामा मतदाता शिक्षा सञ्चालनका लागि स्वयंसेवकलाई तालिम दिएर खटाइएको जानकारी दिनुभयो । स्वयंसेवकलाई मतदान प्रक्रिया, मतदाताको अधिकार तथा कर्तव्य, बदर मत न्यूनीकरण लगायतका विषयमा अभिमुखीकरण गरिएको छ । 

उहाँले भन्नुभयो, “वडामा खटिने स्वयंसेवकलाई मतदातासँग पुगेर मतदान प्रक्रियाका बारेमा जानकारी गराउनुहुनेछ । यसको मुख्य उद्देश्य मत बदर न्यूनीकरण गर्नु हो ।” जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विकास लम्सालले सबै पालिकामा मतदाता शिक्षा सञ्चालनका लागि स्वयंसेवक खटाइएको जानकारी दिनुभयो । 

मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।

     लम्सालले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनसकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गर्नुभयो ।

 विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिइनेछ । 

निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ । 

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २६ हजार ८८२ र र क्षेत्र नं २ तर्फ एक लाख २७ हजार ५१५ मतदाता कायम भएका छन् । क्षेत्र नं १ मा पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ । क्षेत्र नं २ मा पुरुषको सङ्ख्या ६१ हजार ७१३ र महिलाको सङ्ख्या ६५ हजार ८०२ रहेको छ । 

क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नं ५ र ६ पर्दछ ।