फागुन १०, २०८२ आइतबार

जेरुसेलम, १० फागुन (रासस/एएफपी) : जेरुसेलम, १० फागुन : इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले इजरायललाई मध्यपूर्वको विशाल भूभागमा बाइबलीय अधिकार रहेको सङ्केत दिनुभएको टिप्पणीपछि अरब र मुस्लिम देशहरू एकै स्वरमा विरोधमा उत्रिएका छन् । एक दर्जनभन्दा बढी सरकार तथा तीन प्रमुख क्षेत्रीय संस्थाले संयुक्त वक्तव्य जारी गर्दै उक्त अभिव्यक्तिलाई ‘खतरनाक र भडकाउने’ भन्दै कडा निन्दा गरेका छन् ।

    पूर्व बाप्टिस्ट पादरी तथा कट्टर इजरायल समर्थक हक्काबी अति–दक्षिणपन्थी टिप्पणीकार टकर कार्लसनको पोडकास्टमा बोलिरहनुभएको थियो । शुक्रबार सार्वजनिक गरिएको एपिसोडमा कार्लसनले बाइबलीय पद उद्धृत गर्दै कहिलेकाहीँ इजिप्टको नाइल नदीदेखि सिरिया र इराकको युफ्रेटिस नदीसम्मको भूभाग इजरायलको अधिकार क्षेत्र हुन सक्ने व्याख्या गर्नुभएको थियो । त्यसको जवाफमा हक्काबीले ‘यदि तिनीहरूले त्यो सबै लिए भने राम्रो हुनेछ’ भन्नुभएको थियो । थप प्रश्नमा उहाँले इजरायलले ती सबै भूभाग लिन आग्रह नगरेको उल्लेख गर्दै आफ्नो भनाइ केही हदसम्म अतिशयोक्तिपूर्ण भएको बताउनुभएको थियो ।

    तर उक्त टिप्पणीले क्षेत्रीय स्तरमा तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को विदेश मन्त्रालयमार्फत जारी संयुक्त वक्तव्यमा युएई, इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, लेबनान, सिरिया र प्यालेस्टाइन राज्यका साथै इस्लामिक सहयोग सङ्गठन, अरब लिग र खाडी सहयोग परिषद्ले हस्ताक्षर गरेका छन् । उनीहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्रको मर्म र गाजा युद्धलाई कम गर्ने तथा व्यापक राजनीतिक समाधान खोज्ने प्रयासविरुद्ध यस्तो अभिव्यक्ति गएको बताएका छन् ।

    इरानले पनि प्रतिक्रिया दिँदै हक्काबीको टिप्पणीले प्यालेस्टिनीहरूमाथि इजरायलले गरिरहेको ‘विस्तारवादी आक्रमण’ मा अमेरिकी सक्रिय संलग्नता प्रकट गरेको आरोप लगाएको छ । यसअघि साउदी अरेबियाले उक्त अभिव्यक्तिलाई ‘लापरवाह’ र ‘गैरजिम्मेवारपूर्ण’ भनेको थियो भने जोर्डनले यसलाई क्षेत्रीय सार्वभौमसत्तामाथिको आक्रमण ठहर गरेको थियो । कुवेतले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको बताएको छ भने ओमानले यसले शान्ति र स्थिरताको सम्भावनालाई खतरामा पारेको जनाएको छ । इजिप्टले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्र वा अन्य कुनै अरब भूमिमा इजरायलको सार्वभौमिकता नभएको पुनः दोहोर्‍याएको छ ।

    प्यालेस्टिनी प्राधिकरणले सामाजिक सञ्जालमार्फत हक्काबीको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम किनारलाई इजरायलमा विलय नगर्ने अडानसँग विपरीत भएको टिप्पणी गरेको छ । शनिबार हक्काबीले एक्समा अन्य विषयमा आफ्नो धारणा प्रस्ट्याउन दुई सन्देश प्रकाशित गर्नुभएको भए पनि बाइबलीय पदसम्बन्धी अभिव्यक्तिलाई भने प्रत्यक्ष सम्बोधन गर्नुभएको छैन ।

    इजरायली संसद्का अध्यक्ष अमिर ओहानाले भने हक्काबीको समग्र इजरायल समर्थक दृष्टिकोणको प्रशंसा गर्दै कार्लसनमाथि ‘झूट र हेरफेर’ गरेको आरोप लगाउनुभएको छ । उता कार्लसन हालै स्वघोषित श्वेत राष्ट्रवादी निक फुएन्टेससँग गरेको लामो अन्तर्वार्तापछि यहुदीविरोधी आरोपको सामना गरिरहनुभएको छ, जसमा फुएन्टेसले हिटलरको प्रशंसा, नरसंहार अस्वीकार र अमेरिकी यहुदीहरूलाई विश्वासघातीको रूपमा चित्रण गर्नुभएको थियो ।

    हक्काबीको उक्त टिप्पणीले गाजा युद्ध र पश्चिम किनारका विषयमा चलिरहेको संवेदनशील कूटनीतिक प्रयासबीच नयाँ तनाव थपिदिएको छ, जसले मध्यपूर्वमा शान्ति प्रक्रिया झनै जटिल बन्ने सङ्केत दिएको छ ।