कास्की,१६ फागुन : कास्कीमा मतदाता शिक्षा कार्यक्रमलाई निर्वाचन कार्यालयले प्राथमिकताका साथ सञ्चालन गरेको छ ।आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सही तरिकाले मतदा गर्न मतदातालाई सिकाउनका लागि गत फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार सकेसम्म मत बदर नहोस् भनेर मतदाता शिक्षा स्वयंसेवकमार्फत नमूना मतपत्रका आधारमा पाँच पालिकाका ७२ वडै वडामा फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । विसं २०७९ को निर्वाचनमा कास्कीमा पाँच प्रतिशत मत बदर भएको थियो । त्यस बेला प्रतिनिधिसभा सदस्य लागि एक लाख ७८ हजार आठ सय छ मत खसेकामा सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार चार सय ६४ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर हुने गरेको छ । सूचना अधिकारी न्यौपानेले भन्नुभयो, “विगतका निर्वाचलाई हेर्दा यहाँ बदर मतको प्रतिशत समेत बढीनै छ । निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि मतदाता शिक्षामा जोड दिएको छ । सबै वडामा शिक्षा कार्यक्रम भइरहेको छ । मत कसरी हाल्ने भनेर नमूना मतपत्रका आधारमा सिकाइरहेका छौँ । ”
प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचनका लागि दुई हजार एक सय ९० जना कर्मचारी खटिएका छन् । कर्मचारीहरुलाई शुक्रबार भोली शनिबार नियुक्ति पत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कास्कीमा एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र रहेका छन् । यसैगरी दुई वटा अस्थायी मतदान केन्द्र गरी कूल तीन सय ६५ मतदान केन्द्रमा दुई हजार एक सय ९० कर्मचारी खटिनेछन् ।
यसैगरी मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ । निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ । यसैगरी मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिनेछन् ।
जिल्लामा विभिन्न १८ राजनीतिक दल तथा स्वतन्त्र ४४ पुरुष र पाँच महिला गरी ४९ जना उम्मेदवार मैदानमा छन् । यसैगरी मतदाता संख्या तीन लाख आठ हजार पाँच सय ७२ जना रहेको छ । विसं २०७९ को निर्वाचनमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेका थिए ।