फागुन १७, २०८२ आइतबार

चितवन, १७ फागुनः आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन् । बैंक खाता खोल्नका लागि ३९ले सिफारिस लिएका थिए । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा ६४ जना उम्मेदवार छन् । सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतिपय उम्मेदवारले त हामी खर्च नै गर्दैनौँ, किन खाता खोल्ने भन्नुहुन्छ ।” कतिपयले भने खाता खोल्ने प्रक्रियामा नै रहेको जवाफ दिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आसन्न निर्वाचनका लागि बैंकिङ खाता  अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरू कार्यालय भने आएका छन् । उहाँले भन्नुभयो, “बैंकिङ खाता खोल्ने विषयमा जानकारी लिन आउनुभएको छ, तर खाता खोल्न अझै धेरैको बाँकी छ ।”

निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारका लागि गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाइ निर्वाचनमा सुशासन कायम गर्न बैंकिङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो ।

यस्तै जिल्लामा रहेका १२ उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन् । कार्कीका  अनुसार तीन जना स्वतन्त्र उम्मेदवार र नौ जना राजनीतिक दलका उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन् । आयोगले फागुन ३ गतेसम्म उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो ।
–––