त्रिवेणी (नवलपरासी), १७ फागुन : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता रहेको छ । पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा जिल्लाको हुप्सेकोट गाउँपालिका–५ का स्थानीयलाई समस्या हुने गरेको छ ।
फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । तर नवलपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्रका रोबहादुर रानालाई भने भोट हाल्न कसरी पुग्ने भन्ने चिन्ताले अहिले नै सताउन थालेको छ । जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने यस वडामा रहेका दुईवटा मतदानस्थलमध्ये रुद्रपुरमा रहेको शिक्षा वोधनी आधारभूत विद्यालय पुग्न झण्डै १० किलोमिटरको यात्रा गर्नुपर्ने पाङ्गे्रका मतदाताको बाध्यता छ ।
यस मतदानस्थलमा मतदान गर्ने पाङ्गे्र र पाङ्गे्रघाटका मतदातालाई मतदानस्थल पुग्नै घण्टौँ समय लाग्ने गर्दछ । पहाडी क्षेत्र त्यसमा पनि दश किलोमिटर टाढाको मतदानस्थलमा मतदान गर्न जान निकै समस्या हुने गरेको यहाँका स्थानीयको गुनासो छ ।
पाङ्गे्र र पाङ्गे्रघाटका मतदाता पोखरी हुँदै करिब १० किलोमिटरको दूरीमा रहेको मतदानस्थलमा मतदान गर्न जानुपर्ने बाध्यता छ । मतदानको दिन सवारीसाधनसमेत नचल्ने र हिँडेरै पुग्नुपर्ने हुँदा यहाँका मतदातालाई मतदानका लागि बिहानै मतदानस्थल प्रस्थान गर्नुपर्ने बाध्यता छ । “धेरै टाढा मतदान केन्द्र छ, हिँडेर जाँदा पहाडी क्षेत्रको बाटो तीनचार घण्टा लाग्छ, सवारी चल्दैन, सबैलाई मतदानस्थलसम्म पुग्न धेरै समस्या छ”, स्थानीय रानाले भन्नुभयो ।
पहिले गाविसको चुनाव हुँदा पाङ्गे्रघाटमा भोट हाल्न सजिलो हुने गरेकामा पछि रुद्रपुर सारेपछि आफूहरूलाई समस्या भएको रानाले बताउनुभयो । मतदानस्थल टाढा हुँदा धेरै हिँड्न नसक्नेहरू मतदान गर्नै नजाने अवस्था बन्ने गरेको उहाँले बताउनुभयो । “मतदानस्थल नजिक हुने गरी मिलाए आफूहरूलाई सजिलो हुने थियो, अलि हिँड्न गाह्रो हुने त कसरी भोट हाल्न पुग्लान खै”, उहाँले भन्नुभयो ।
शिक्षा वोधनी आधारभूत विद्यालय रुद्रपुरमा रहेको मतदान केन्द्रमा वाकखोर, पोखरी, राम्चे, धौवादी, हर्दे, पाङ्गे्र , पाङ्गे्रघाट र धौलावसेनीका मतदाताले मतदान गर्छन् । पहाडी क्षेत्र भएकाले रुद्रपुरको मतदानस्थल सबैका लागि पायक पर्ने र छोटो दूरीको हुनसकेको छैन । हर्दे, राम्चे र धौवादीका मतदाताबाहेक सबैलाई यो मतदानस्थल अपायक हुने गरेको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताउनुभयो ।
रुद्रपुरमा रहेको यस मतदानस्थलमा मतदान गर्ने मतदाताको सङ्ख्या ८४८ रहेको छ । जिल्लाको पहाडी क्षेत्रका मतदानस्थल प्रायः सबैका लागि सहज पहुँच हुनसकेको छैन । भौगोलिक विकटता भएका क्षेत्रमा मतदानको सङ्ख्याका आधारमा मतदान केन्द्र तय गरिँदा धेरैका लागि दूरीका हिसाबले मतदान केन्द्र टाढा पर्ने गरेको छ । नवलपुरमा ११४ मतदानस्थल र ३११ मतदान केन्द्र छन् ।
दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदाता ६५ हजार ९८२, महिला मतदाता ७१ हजार ९८ र अन्य एक गरी एक लाख ३७ हजार ८१ मतदाता छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तर्फ पुरुष मतदाता ६३ हजार ७२, महिला मतदाता ६८ हजार ३७० र अन्य मतदाता तीन गरी एक लाख ३१ हजार ४४५ मतदाता रहेका छन् ।
मतदानस्थलको जिम्मा महिलालाई
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एउटा मतदानस्थलको जिम्मा महिलालाई दिइएको छ । नवलपुरमा रहेका ११४ मतदानस्थलमध्ये एउटा मतदान स्थलको जिम्मा महिलालाई प्रदान गरिएको हो ।
क्षेत्र नं २ मा पर्ने कावासोती नगरपालिका–३ मा रहेको जीवनज्योति माध्यामिक विद्यालयको मतदानस्थलमा महिला कर्मचारीमात्रै खटाइएको नवलपुर–२ का सहायक निर्वाचन अधिकृत युवराज पन्थीले बताउनुभयो । सहायक निर्वाचन अधिकृत पन्थीका अनुसार जीवनज्योति माविमा रहेको मतदानस्थलमा दुईवटा मतदान केन्द्र रहेका छन् । दुवै मतदान केन्द्रमा महिला कर्मचारी मात्र परिचालन गरिएको उहाँले बताउनुभयो । यहाँ रहेको ‘क’ केन्द्रमा दीपा गौतमलाई मतदान अधिकृत बनाइएको छभने ‘ख’ केन्द्रमा अनिता श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।
यस स्थलमा रहेका दुवै केन्द्रमा मतदान अधिकृतसहित अन्य सबै कर्मचारी महिलामात्र खटाइएको छ । प्रत्येक मतदान केन्द्रमा मतदान अकिृतसहित छ–छ जना गरी कुल १२ महिला कर्मचारी परिचालन गरिएको सहायक निर्वाचन अधिकृत पन्थीले बताउनुभयो ।
जिल्लामा रहेका मतदानस्थलमध्ये एउटालाई महिलाले मात्रै सञ्चालन गरी नमूना मतदानस्थल बनाउने योजनाअनुसार यस्तो गरिएको उहाँले बताउनुभयो । खासमा अरु केही योजना हैन, महिलालाई मात्र एउटा मतदानस्थल जिम्मा दिएर महिलामैत्री नमूना मतदानस्थल बनाउँ भन्ने लागेर सोहीअनुसार कर्मचारी परिचालन गरेका हौँ”, सहायक निर्वाचन अधिकृत पन्थीले भन्नुभयो ।