फागुन १७, २०८२ आइतबार

धर्मेन्द्र झा

काठमाडौँ, १७ फागुनः कुनै ठूलै बिघ्नबाधा उत्पन्न नभए नेपाली मतदातताले प्रतिनिधिसभा सदस्यको चुनाव गर्न आजको चौथौँ दिन अर्थात् २०८२ फागुन २१ गते बिहीबार मतदान गर्नेछन् । निर्वाचन आयोगले शुक्रबार (फागुन १४) पत्रकार सम्मेलनमार्फत निर्वाचन सुनिश्चितताबारे सबै सरोकारवालालाई आश्वस्त बनाउने प्रयत्न गरेको छ । आयोगले उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न गरेर पछिल्लो समयमा कानुनी प्रक्रियाका आधारमा आचारसंहिता लागू गर्ने र मतदाता शिक्षालगायत कार्य गर्दैछ । यो निकै सकारात्मक छ । यति हुँदाहुँदै पनि सम्भावित चुनौतीबारे सबैले सचेत रहनु जरुरी छ । 

    समयसँगै भित्रिएको प्रविधिगत विकासले निम्त्याएको/निम्तिएको चुनौती त्यस्तै एक होभन्दा अन्यथा नठहरिएला । प्रविधिगत चुनौतीको कुरा गर्दा सर्वाधिक प्रमुख छ सञ्चार प्रविधि क्षेत्रको चुनौती । प्रविधिगत विकासका आयामलाई प्रत्येक अवस्थामा चुनौती मानिनु हुँदैन, होइन पनि । तर यिनको प्रयोग कुनै पनि व्यक्ति वा समूहले आफ्ना नीहित स्वार्थलाई सर्वोपरि मानेर अरुलाई नकारात्मक असर पर्नेगरी प्रयोग गर्ने मनसाय राख्छ वा प्रयोग गर्छ भने त्यसले निश्चित रुपमा चुनौती निम्त्याउँछ । यस अवस्थाबाट अर्थात् यस्तो चुनौतीबाट आसन्न निर्वाचनको प्रक्रिया पनि प्रभावित छैन वा हुँदैन भनेर भन्न सकिने अवस्था नरहन सक्छ । प्रविधिको सदुपयोगले मानव जीवनलाई सहज र सुविधासम्पन्न बनाउँछ भन्ने अपेक्षा र विश्वास गरिन्छ तर यो कुरा निश्चय पनि यसको प्रयोगको विधि र नियतमा भरपर्छ ।   

    निर्वाचन लोकतन्त्रलाई थप मजबुत बनाउने, सामाजिक सद्भाव र वैचारिक सहअस्तित्वलाई गहिरो बनाउने अवसर पनि हो । आसन्न निर्वाचनका माध्यमबाट निषेध र अराजक सोचलाई विस्थापित गर्दै कानुनको शासन र सुशासनका पक्षमा नयाँ, जिम्मेवार सोचको उदय हुनुपर्छ र यसका लागि मतदाताको विवेकपूर्ण निर्णय अत्यन्तै महत्वपूर्ण हुन्छ । निश्चय पनि आसन्न चुनाव सचेत नागरिकको निर्णयले ऐतिहासिक बन्न सक्नुपर्छ । हामी सबैलाई जानकारी छ, प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन् । नागरिकलाई आफ्ना प्रतिनिधि छान्ने संवैधानिक अधिकार प्रदान गर्ने निर्वाचन लोकतन्त्रको सुदृढीकरणका लागि एक महत्वपूर्ण आधार हो । 

    माथि पनि चर्चा गरियो, यसपटकको निर्वाचनका सन्दर्भमा सूचना प्रविधिको विकास एक बलियो चुनौतीका रुपमा उपस्थित भएको छ । यसपटकको निर्वाचनमा परम्परागत प्रचारप्रसारसँगै डिजिटल प्लेटफर्म र अनलाइन स्पेसको प्रयोग अत्यधिक बढेको छ । यही बढ्दो डिजिटल प्रयोगसँगै केही गम्भीर चुनौती पनि सतहमा देखिएका छन् । जतिजति चुनाव नजिकिँदैछ, आफ्नै स्वार्थका लागि अरूको बदनाम गर्ने प्रवृत्ति पनि बढ्दो छ । यस कार्यमा सूचना प्रविधिको प्रयोग गरिँदैछ र डिजिटल स्पेसलाई माध्यम बनाइँदैछ । फेक खबर, डिपफेक भिडियो, घृणा फैलाउने सामग्री अहिले कुनै पनि मतदाताका मोबाइलमै आइपुग्न सक्छन् । मतदातासामु भावनामा बगेर नझुक्किने चुनौतीको सामाना गर्ने बाध्यात्मक अवस्था आइपर्न सक्छ । विचारणीय छ, आफ्नो मोबाइलसम्म अनपेक्षित, अनिच्छित र अवाञ्छित रुपमा आइपुगेका सूचनालाई पुष्टि गरेर मात्र प्रयोग गर्ने वा नगर्ने अतिरिक्त मानसिक दबावमा छन् मतदाता । 

    आजका मतदाता कुनै पनि सूचनामाथि त्यतिकै सरल र सहज रुपमा विश्वास गरिहाल्नसक्ने अवस्थामा छैनन्भन्दा असत्य ठहर्दैन । निश्चय पनि अप्रमाणित कुराका आधारमा धारणा बनाउनु उचित हुँदैन । इन्टरनेटमा आधारित माध्यमको प्रयोग गरेर स्वार्थ समूहले फैलाएको ‘प्रोपोगण्डा’को उपस्थितिमा मतदाता दिग्भ्रमति हुनसक्ने अवस्थामा छन् र उनीहरु उचित निर्णय लिने क्रममा अत्यन्तै सकसपूर्ण अवस्थाको सामाना गर्न बाध्य छन् । मतदाताले सचेत अवस्थामा उचित निर्णय गर्न नसकेको अवस्थामा गलत सूचनाले हाम्रो लोकतन्त्रलाई नै भ्रमित बनाउन सक्छ । 

    प्रविधिको प्रयोग नराम्रो होइन तर दुरुपयोग भने नराम्रो हो । यो आलेख तयार गर्ने सन्दर्भमा पनि एआई (कृत्रिम बौद्धिकता)लगायतका सूचना प्रविधिसम्बद्ध संयन्त्रहरुको सहयोग लिने प्रयत्न गरिएको छ । केही प्रश्न सोधेर उत्तर खोज्ने र सही विश्लेषण्को प्रयत्न भएको छ । उद्देश्य आममतदाताको हित रक्षा हो । यसलाई नकारात्मक मान्न नसकिएला, तर यही संयन्त्रलाई प्रयोग गरेर कसैले गलत सूचनामा आधारित विश्लेषण प्रस्तुत गरेर मतदातालाई आफ्नो स्वार्थ अनुकूल प्रभावित गर्ने उद्देश्य राख्दछ भने निश्चय पनि त्यो गलत हो ।      

    डिजिटल स्पेसले विगतको निर्वाचन प्रचारको शैलीलाई नै परिवर्तन गरेको छ । वर्तमानको डिजिटेल स्पेसले विगतका निर्वाचनमा प्रयोग हुने गरेको पर्चा, पोस्टर–पम्प्लेटको स्थान, स्वरुप र शैलीमा परिवर्तन गरेको छ । यी सबै कार्य अहिले डिजिटल प्लेटफर्ममार्फत हुन थालेका छन् । 

    यस्तै विगतको भित्तेलेखनले पनि कुनै न कुनै रुपमा डिजिटल स्पेसमा स्थान सुरक्षित गरेको छभन्दा अन्यथा ठहर्दैन । विगतमा घरदैलो कार्यक्रम, आमसभा, सञ्चारमाध्यम मुख्य प्रचार माध्यम हुन्थे भने अहिले सामाजिक सञ्जाल, अनलाइन न्यूज पोर्टल, भिडियो प्लेटफर्म, म्यासेजिङ एप र एआई प्रविधिको प्रयोगले प्रचारको स्वरूप नै परिवर्तन गरिदिएको छ । कसैको पनि असहमति नहोला, वर्तमानमा फेसबुक, टिकटक, युट्युब, एक्स (ट्विटर)जस्ता प्लेटफर्महरू राजनीतिक बहस र प्रचारका प्रमुख माध्यम बनेका छन् । आसन्न निर्वाचन पनि अपवाद बन्ने कुरा भएन । उम्मेदवार र दलहरूले मतदातासम्म छिटो र प्रत्यक्ष रुपमा पुग्न डिजिटल माध्यमलाई प्राथमिकता दिएका छन् । यसले सूचना पहुँच सहज बनाएको छ र युवापुस्ताको सहभागिता पनि बढाएको मान्न सकिएला तर यसै उपक्रममा अनेक जटिलता पनि थपिएका छन् । सकारात्मक पक्षसँगै नकारात्मक पक्ष पनि उत्तिकै देखिन थालेका छन् । 

    डिजिटल स्पेसमा मिथ्या सूचना, दुराशययुक्त सूचना र अफवाहहरूको बाढी आएको छ । कतिपय अवस्थामा झुटा भिडियो, फोटो सम्पादन, एआईमार्फत बनाइएका नक्कली आवाज, भ्रामक तथ्याङ्क आदिको प्रयोग गरी मतदातालाई भ्रमित पार्ने प्रयास भइरहेको देखिन्छ । यसले आममतदाताको मनोविज्ञानमा प्रभाव पार्छ, उनीहरूलाई अन्योलमा पार्छ र गलत निर्णय लिन प्रेरित गर्न सक्छ । माथि पनि चर्चा गरियो उचित निर्णयको अभावमा समग्र लोकतन्त्र नै प्रभावित हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । निर्वाचन आयोग यस सम्भावनाप्रति सचेत छ र आवश्यक पहल गरिरहेको छ तर आयोग मात्रैको प्रयासले यो कार्यमा सायद पूर्णतः सफलता प्राप्त गर्न कठिन हुन सक्छ । सबैको सहयोग अपेक्षित छ । 

    एल्गोरिदमद्वारा सिर्जित हुने ‘इको चेम्बर’ डिजिटल प्लेटफर्मको अर्को चुनौती हो । सामाजिक सञ्जालले प्रयोगकर्तालाई उनीहरूले रुचाएका वा पहिले हेरेका वा प्रयोग गरेका जस्तै सामग्री बारम्बार देखाउँछ । यसले व्यक्ति एउटै विचारधारामा सीमित हुने र फरक दृष्टिकोण सुन्न नचाहने अवस्था सिर्जना गर्छ । यस अवस्थामा स्वस्थ बहस र सहिष्णु संवादको संस्कृति कमजोर हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । मतदाताले बहुआयामिक सूचना पाउन नसक्दा स्वतन्त्र निर्णय गर्ने क्षमतामा असर पर्न सक्छ ।

    आयोगका अनुसार शुक्रबारसम्म स्वच्छ निर्वाचन प्रभावित पार्ने उद्देश्यले निर्माण गरिएका ६१२ वटा ‘टक्सिक सूचना सामग्री’लाई कारबाही गरिएको छ । आयोगका अनुसार विभिन्न नियामक निकायसँगको समन्वयमा त्यस्ता ‘टक्सिक सूचना सामग्री’लाई कारबाही गरिएको हो । आयोगको कारबाहीमा परेका त्यस्ता ‘टक्सिक सूचना सामग्री’मध्ये ५४ प्रतिशत एआई निर्मित छन् । यस सन्दर्भमा एउटा कुरा मननीय छ, त्यो के भने कारबाही गरिएका उक्त परिमाणका ‘टक्सिक’ सूचना सामग्री निर्वाचन आचारसंहिता लागू भएपछिका दिनका हुन् । निर्वाचन त तिथि घोषित भएकै मितिदेखि दल, उम्मेदवार र मतदातालाई लागिसकेको पृष्टभूमिमा यस्ता मिथ्या सूचना कति प्रवाहित भएका होलान् ? निश्चय पनि यकीन गर्न सकिँदैन ।   
    
    यतिमात्र होइन, डिजिटल स्पेस असुरक्षित बन्दै गएको आँकलन गरिएको छ । जानकारहरुका अनुसार व्यक्तिगत डाटा चोरी, गोपनीयता उल्लङ्घन, ट्रोलिङ, साइबर दुव्र्यवहार र घृणात्मक अभिव्यक्तिजस्ता समस्या पछिल्ला समयमा बढेका छन् । यस्तोमा यी समस्याको उपस्थितिमा राजनीतिक प्रतिस्पर्धा तीव्र हुँदा अनलाइन आक्रमण र चरित्र हत्या गर्ने प्रवृत्ति बढ्न सक्छ । यस्तो वातावरणमा आममतदाताले मानसिक दबाब महसुस गर्न सक्छन् । लगातार नकारात्मक सन्देश, उत्तेजक सामग्री र भय पैदा गर्ने सूचनाले तनाव र असुरक्षा बढाउनु स्वाभाविक हो । अहिलेको अवस्थामा यो प्रवृत्ति हाबी हुन खोजेको छ भन्नु असङ्गत हुँदैन । भोलि १८ गतदेखि मौन अवधि सुरु हुँदैछ । यस अवधिमा परिचित वा अपरिचित डोमेनबाट डिजिटल स्पेसमार्फत हस्तक्षेप बढाउने प्रयास हुनसक्छ । अतः यस अवधिमा डिजिटल स्पेसको अनुगमन अझै सावधानी अपनाउनु अपरिहार्य छ ।

    एआइ प्रविधि स्वयंमा सकारात्मक सम्भावना बोकेको साधन हो । यसलाई मतदाता शिक्षा, तथ्य परीक्षण, सूचना विश्लेषण र पारदर्शिता बढाउन प्रयोग गर्न सकिन्छ । तर हाल एआईको नकारात्मक प्रयोग बढी हुन थालेको आशङ्का छ । उदाहरणका लागि, एआईमार्फत नक्कली भिडियो वा अडियो बनाएर उम्मेदवारको छवि बिगार्ने प्रयास, गलत उद्धरण फैलाउने वा सामाजिक विभाजन बढाउने सामग्री उत्पादन गर्नेजस्ता गतिविधि हुन सक्छन् । निश्चय पनि यसबाट लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष असर पर्न सक्छ ।

    लोकतन्त्रको मूल आत्मा भनेको स्वतन्त्र, सूचित र विवेकी मतदाताको निर्णय हो । मतदाता भ्रमित भए, मानसिक दबाबमा परे वा गलत सूचनाबाट प्रभावित भए भने निर्वाचनको निष्पक्षता र विश्वसनीयता कमजोर हुन सक्छ । त्यसैले डिजिटल स्पेसमा फैलिने मिथ्या तथा दुराशययुक्त सूचनालाई नियन्त्रण गर्नु आवश्यक छ । यसका लागि राज्य, राजनीतिक दल, सञ्चारमाध्यम, प्रविधि कम्पनी र नागरिक सबैको साझा जिम्मेवारी हुन्छ ।
    
सारमा, यो अवस्था रोकिनु आवश्यक छ । निर्वाचन केबल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, लोकतन्त्रको आधारशिला हो । स्वतन्त्र चिन्तन र निर्णय गर्ने मतदाताको अधिकारको सुरक्षा गर्नु राज्यको दायित्व हो । डिजिटल प्रविधि लोकतन्त्रलाई सशक्त बनाउने माध्यम बन्नुपर्छ, कमजोर पार्ने हतियार होइन । यसको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै नकारात्मक दुरुपयोगलाई नियन्त्रण गर्न सकिएमा मात्र निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र विश्वसनीय बन्न सक्छ, यसमा विमति हुन सक्दैन । यस्तोमा प्रतिनिधिसभा निर्वाचन केबल प्रतिनिधि चयन गर्ने अवसर मात्र होइन, डिजिटल युगमा लोकतन्त्रको परीक्षण गर्ने औजार पनि हो । डिजिटल स्पेसलाई सुरक्षित, विश्वसनीय र जिम्मेवार बनाउन सकियो भने मतदाताको स्वतन्त्रता सुरक्षित रहन्छ र लोकतन्त्र अझ सुदृढ बन्ने सुनिश्चित हुन्छ । (लेखक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हुनुहुन्छ)