फागुन १९, २०८२ मंगलबार

दमौली (तनहुँ), १९ फागुनः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । 

    मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँ क्षेत्र नं १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ भने क्षेत्र नं २ का लागि शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने छ ।

    मतगणनास्थलमा आवश्यक सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, तारजाली, अवलोकनकक्ष तथा उम्मेदवार÷प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको जनाउँदै प्रजिअ तिवारीले मतपेटिका सुरक्षित रूपमा राख्नका लागि कडा सुरक्षासहितको कोठा तयारी गरिएको बताउनुभयो । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँको क्षेत्र नं १ मा एक लाख २६ हजार ८८२ र र क्षेत्र नं २ मा एक लाख २७ हजार ५१५ मतदाता कायम गरिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताउनुभयो । 

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारागार कार्यालय तनहुँ र कृषि विकास कार्यालय गरी जिल्लामा दुई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्ने भएकाले सोका लागि अस्थायी मतदान केन्द्र बनाइएको उहाँले जानकारी दिनुभयो । 

    बागलुङस्थित रासस समाचारदाताका अनुसार दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुईवटा मतगणनास्थल तारजाली र सिसी क्यामेरासहित तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालय रहेको ढोरपाटन नगरपालिका–२ कुथाप्लोमा मतगणनास्थल तयार गरिएको हो । 

    प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय रहेको दुई स्थानमै फलामे तारजाली लगाइएको छ भने ध्वनिसहित भिडियो रेकर्ड गर्ने सिसी क्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिनुभयो । 

    म्याग्दीस्थित रासस समाचारदाताका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर मतगणनास्थल तयार पारेको हो । 

    मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणनास्थललाई तारजाली, सिसीटिभी जडानलगायत कामह सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

    मतगणनास्थलमा तारजाली लगाउने, सुरक्षा पोस्ट र आवश्यक अन्य संरचना निर्माण गरिएको गणनास्थलमा सिसी क्यामेरासहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ । मतगणनास्थलमा बाहिरबाट कोही पनि भित्र पस्न नसकुन भनेर तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । 

    मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले बाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो  । उहाँका अनुसार जिल्ला समन्वय समितिको कार्यालयका कोठाहरूमा मतपेटिका सङ्कलन गर्ने ठाउँसमेत तयार पारिएको छ । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा छवटा स्थानीय तह र ४५ वटा वडा रहेका छन् । 

    यहाँ ८२ वटा मतदानस्थलमा सोमबार कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरेका छन् । एक सय २२ मतदान अधिकृत, १२२ सहायक मतादन अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् । एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

    जिल्लामा ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना अन्य मतदाता रहेका छन् । कारागार र कर्मचारीहरूको समानुपातिक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको छ ।