फागुन १९, २०८२ मंगलबार

भोजपुर, १९ फागुन : रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको समस्या अन्त्य भएको छ । पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका यहाँका स्थानीय अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन् ।

गाउँका ४६८ घरमा ‘एक घर, एक धारा’ अभियानमार्फत  पिउने पानी वितरण गरिएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । घरघरमा धारा पुगेसँगै घण्टौँसम्म पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छ ।

स्थानीय कल्पना भट्टराईका अनुसार घरमै धारा जडान भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ । पहिले घरमा धारा नहुँदा निकै सास्ती थियो, टाढाबाट बोकेर पानी ल्याउनुपथ्र्यो । अहिले घरमै पानी आउँदा धेरै सहज भएको छ ।

अर्की स्थानीय सरस्वती भट्टराईले पनि विगत सम्झिँदै भन्नुभयो, “घरभन्दा परका तीनवटा धाराबाट डोको बोकेर पानी ल्याउनुपथ्र्यो, अहिले आँगनमै धारा जडान भएपछि सरसफाइमा सहज भएको छ । खेर जाने पानी करेसाबारीमा प्रयोग गरिरहेका छौँ ।”

वडाध्यक्ष रामु थापामगरका अनुसार वडाभरिका सबै ४६८ घरमा धारा जडान सम्पन्न गरिएको छ । एक घर, एक धारा अभियान सफल भएको छ । अब स्थानीयले वर्षौँदेखिको पानीको समस्या भोग्नुपर्दैन । धारा जडानसँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै वडाले ‘एक घर, एक फिल्टर’ अभियान पनि सञ्चालन गरेको जनाएको छ । पानीजन्य रोगबाट बच्न प्रत्येक घरमा पानी फिल्टरसमेत वितरण गरिएको छ ।