फागुन १९, २०८२ मंगलबार

ढोरपाटन (बागलुङ), १९ फागुन : यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपिभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र  विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन् ।

यस वर्ष जिल्लाभर दुई हजार ३१३ जना किशोरीलाई एचपिभी खोप दिने लक्ष्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिकाका ५५६, गलकोटका २६८, जैमिनीका १५८, ढोरपाटन नगरपालिकाका ४१९ जना किशोरीले खोप लगाएका छन् ।

त्यस्तै काठेखोला गाउँपालिकाका १३५, तमानखोलाका १०१, ताराखोलाका ५५, निसीखोलाका २३५, बडिगाडका ३०९ र बरेङ गाउँपालिकाका ७३ जना किशोरीले एचपिभी खोप लगाएका घिमिरेले बताउनुभयो । 

विद्यालय जाने दुई हजार २७१ र विद्यालय नजाने १४ र छुटेका १७ जना किशोरीले यसपटक खोप लगाएको उहाँको भनाइ छ । गत वर्ष ११ हजार १७७ किशोरीले एचपिभी खोप लगाएका थिए । तोकिएको उमेर समूहका किशोरीलाई खोप लगाउनबाट नछुटाउनका लागि फागुनभित्र विद्यालय र घरघरसम्म पुग्न स्वास्थ्यकर्मी खटाइएको उहाँले बताउनुभयो ।