फागुन २१, २०८२ बिहिबार

लुम्बिनी, २१ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रूपन्देही क्षेत्र नं ८ मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

    रूपन्देही क्षेत्र नं २ मा एमालेका तर्फबाट उम्मेदवारसमेर रहनुभएका पौडेलले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट बिहान ७ः०५ बजे मतदान गर्नुभएको हो ।

    यो निर्वाचन क्षेत्रमा एक लाख ३५ हजार ५० मतदाता रहेका छन् । मतदानपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा नेता पौडेलले जनता उत्साहपूर्वक मतदानमा सहभागी भएका बताउनुभयो । उहाँले मतदानलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सबैको सहकार्य, समन्वय आवश्यक पर्ने बताउँदै गलत अफवाहमा नलाग्न सबैलाई आह्वान गर्नुभयो ।

    प्रतिनिधिसभातर्फ रुपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्र छन् । जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो ।