फागुन २१, २०८२ बिहिबार

जलेश्वर ,(महात्तरी ) २१ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वर कारागारमा मतदान सम्पन्न भएको छ ।

    मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार कैदीबन्दीको लागि अस्थायी मतदान केन्द्र कायम गरिएको कारागार कार्यालय जलेश्वरमा ३० मिनेटमै मतदान सम्पन्न भएको हो ।  तीन सय ९१ जना कैदीबन्दी रहेको जलेश्वर कारागारमा मात्र २१ जना कैदीबन्दी मतदाता रहेको थियो भने ती सबै २१ जना मतदाता कैदीबन्दीले अस्थायी मतदान केन्द्र जलेश्वर कारागारमा सत प्रतिशत मतदान सम्पन्न गरेको मतदान अधिकृत अशोककुमार क्षेत्रीले बताउनुभयो ।

जिल्ला जम्मा तीन वटा अस्थायी मतदान केन्द्र कायम गरिएको यसमध्ये कारागार कार्यालय जलेश्वर मतदान केन्द्रको मतदान सत प्रतिशत सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनुभयो । उहाँले अहिले जिल्लाभरि शान्तिपूर्ण मतदान भइरहेको र अहिलेसम्म १० प्रतिशत मतदान भइसकेको बताउनुभयो । 

राजविराज करागारमा कैदीबन्दीद्वारा मतदान 

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राजविराजस्थित कारागारमा मतदान सम्पन्न भएको छ  । मतदान अधिकृत उमेश आर्यालयका अनुसार कैदीबन्दी र त्यहाँ रहेका कर्मचारीसहित ६८ जनाले मतदान गरेको छ  । सुरक्षा व्यवस्थालाई चुस्त बनाएर मतदान गर्ने वातावरण मिलाएर जम्मा ६९  मतदाता कैदीबन्दी रहेको यस करागारमा ६६ जनाले मात्र समानुपातिक तर्फको मत खसालेको उहाँले जानकारी दिनुभयो । त्यसमध्ये दुई जना कर्मचारीले मतदान गरेका छन् । 
 
करागारमा रहेका दुर्ईजना मतदाता कैदी निर्वाचन हुनु अगाडि कैद भुक्तान भएको र एकजना कैदी अन्यत्र करागारमा सरुवा भएका कारण तीन जना कैदीको मत यहाँ खसेन । करागारको निमित जेलर सुुशील कर्णका अनुसार २१ जना महिलासहित करागारमा अहिले ३५२ जना कैदी बन्दी रहेको छ । 
     
कैदीबन्दीलाई पनि मतदान गर्ने अधिकार हुने हुँदा कारगारमै एउटा मतदानस्थल निर्माण गरी मतदान गराइएको छ  । 

बागलुङ कारागारमा मतदान सम्पन्न 

५५ मतदाता रहेको बागलुङ कारागारको अस्थायी मदतान केन्द्रमा मतदान सम्पन्न भएको छ ।  ५३ कैदीबन्दी र दुई कर्मचारी गरी जम्मा ५५ मतदाता रहेको जिल्ला कारागार बागलुङमा ५३ मत खसेको छ । 
समानुपातिक प्रणालीको मात्रै मतदान हुने केन्द्रमा ९६।३६ मत खसेको मतदान अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिनुभयो । 

बागलुङ कारागारमा रहेकामध्ये मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीमध्ये एक जना स्थानान्तरण र एक जना कैद मुक्त भइसकेकाले ५१ जना कैदीबन्दी र दुई कर्मचारीले मतदान गरेका छन् । मतदान सम्पन्न भएपछि दलका प्रतिनिधिको रोहबरमा मतपेटिका बुझाउने प्रक्रिया थालिएको छ । 

बागलुङमा दुई अस्थायी मतदान केन्द्र र १०७ मतदानस्थल र २३० स्थायी मतदान केन्द्रमा कूल एक लाख ९३ हजार ३८१ जना मतदाता छन् ।

कास्की कारागारमा शतप्रतिशत मत खस्यो

कास्कीको कारागार कार्यालयमा रहेका अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ ।

    कारागारमा निर्वाचन आयोगको नामावलीमा सूचीकृत ३८ जना रहेकोमा एकजना धरौटीमा छुटेका कारण ३७ जना मात्रै मतदाता रहेका थिए । 
    
यस केन्द्रमा ३७ जना नै मतदाताले मतदान गरेको मतदान अधिकृत गोविन्द श्रेष्ठले जानकारी दिनुुभयो । यस मतदान केन्द्रमा तीन जना कर्मचरीले पनि मतदान गरेका कारण कूल ४० जनाले मतदान गरेको उहाँले बताउनुभयो ।

    कारागारमा ६९७ जना कैदीबन्दी रहेपनि ३८ जनाको मात्रै मतदाता नामावलीमा नाम रहेको थियो । जिल्लामा सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुुभयो ।
    
कास्की जिल्लामा दुई अस्थायी मतदान केन्द्रसहित ३६५ मतदान केन्द्र र १५३ मतदानस्थल रहेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । 

वीरगञ्ज कारागारका ३२ कैदीबन्दीद्वारा मतदान

पर्साको वीरगञ्ज कारागारमा रहेका ३२ जना कैदीबन्दीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मतदान गरेका छन् । आज यहाँस्थित कारागार परिसरमा राखिएको अस्थायी मतदान केन्द्रमा ३७ जना कैदीबन्दीमध्ये ३२ जनाले मतदान गरेका हुन् । 

वीरगञ्ज कारागारका मतदान अधिकृत यादवकुमार जोशीले ३२ जना कैदीबन्दीले मतदान गरेको जानकारी दिनुभयो । यहाँ कारागार कर्मचारी र सुरक्षाकर्मी ३० जना, निर्वाचन खटिएका कर्मचारी तीन जना गरी कूल ७० मतदाता रहेका छन् । यहाँ एक हजार २०० भन्दा धेरै कैदीबन्दी तथा पूर्पक्षका लागि थुनामा भए पनि अधिकांशको मतदाता नामावलीमा नाम नभएपछि नगन्य मात्रामा मात्रै मत खसेको हो । 

यही केन्द्रबाट कैदीबन्दीले समानुपातिक तर्फको मतदान गरेका हुन् । यस्तै पर्साका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले यहाँको जिल्ला हुलाक कार्यालयमा तोकिएको मतदान केन्द्रमार्फत मतदान गर्दैछन् । यहाँ भने एक हजार ९० जना अस्थायी मतदाता छन् ।

सुर्खेत कारागारामा मतदान सम्पन्न 

सुर्खेत  जिल्ला कारगारमा रहेका सवै मतदाताले मतदान गरेका छन । कारगारमा १०३ मतदाता रहेकोमा केहि सजाय भुक्तान गरि छुटेका र केहि अन्यत्र कारागरमा सरूवा भएका गरि १५ नभएको जिल्ला कारागर  कार्यालयले जनाएको छ । बाकी रहेका ८८ मतदाताले मतदान गरि सकेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख लालबहादु गुरूङले बताउनुभयो । 

८८ मतदातामा ८ महिला र ८० पुरूषरहेका छन । कारागारमा रहेका सवै मतदाताले मतदान गरे पनि आयोगले पाच वजेसम्म समय तोकेकाले उक्त समयसम्म बस्नुपर्ने प्रमुख गुरूङले बताउनुभयो ।  सुर्खेतमा दुई अस्थायी सहित १ सय ४२ मतदान स्थल र ३ अस्थायी सहित ३०५  मतदान केन्द्र  छन ।