फागुन २१, २०८२ बिहिबार

गोरखा, २१ फागुनः आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा ४९.६४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार कूल २ लाख २९ हजार ५८ मतदाता रहेको गोरखामा १ लाख १३ हजार ७२५ मत खसेको हो । 

गोरखामा २२५ मतदानस्थल र ३३३ मतदान केन्द्र निर्धारण गरिएको थियो । अहिले मतपेटिका सङ्कलन भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बिकले बताउनुभयो । 

तल्लो भेगका मतदान केन्द्रका मतपेटिका रातभर ढुवानी गरिसक्ने र हिमाली भेगका २३ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत शुक्रबारसम्म ल्याइसक्ने एसपी बिकले जानकारी दिनुभयो । 

मतगणनाका लागि तारजाली र सिसिटिभीजडित मतगणनास्थल तयार भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । गोरखा–१ को मतगणना जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को भूतथा जलाधार व्यवस्थापन कार्यालयमा हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

निर्वाचन शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । कुनै पनि अप्रिय घटना नघटेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिनुभयो ।