ताप्लेजुङ, २१ फागुनः हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ । कुल ९० हजार ३२७ जना मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ७७४ अर्थात् ५१ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुर्गम मानिएका चारवटा क्षेत्र बाहेक सबै क्षेत्रबाट मतपेटिका सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङ्लुङ गाउँपालिकामा पर्ने ओलाङ्चुङगोला, घुन्सा, ग्याब्ला र याङ्माका मतपेटिका आजै हेलिकप्टरबाट ल्याउने तयारी भए पनि मौसमका कारण सम्भव नभएकोले भोलि बिहान ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले बताउनुभयो ।
ताप्लेजुङमा ८० मतदानस्थल अन्तर्गत १२७ मतदान केन्द्र छन् । यसपटकको निर्वाचनमा १३ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।