म्याग्दी, २२ फागुन : बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा ५४.२ प्रतिशत मत खसेको छ । ८६ हजार ३९७ मध्ये ४६ हजार ८९३ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी बिमल गौतमका अनुसार २५ हजार ११८ जना महिला, २१ हजार ७७४ जना पुरुष र एक जना यौनिक अल्पसङ्ख्यकले मतदान गरेका छन् ।
म्याग्दीका छवटा स्थानीय तहका ४५ वटा वडामा रहेका १२० वटा स्थायी र दुईवटा अस्थायी मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।
मतदानस्थलबाट बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धवलागिरि गाउँपालिका–१ गुर्जाको एकवटा बाहेकको मतपेटिका सङ्कलन भइसकेको छ । आज बिहान ७ः०० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिको भवनमा मतेपटिका सङ्कलन गरी समानुपातिक र प्रत्यक्षतर्फको दुईवटा कोठामा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा शिलबन्दी गरेर मतपेटिका भण्डारण गरिने भएको छ ।
मतेपटिका भण्डारण र मतगणनास्थलमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । मतगणनास्थलमा तारजाली लगाएर ठाउँ बनाइएको छ । दुईवटा समूहमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ११ जना राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् ।