काठमाडौँ, २२ फागुन : राष्ट्रिय सूचना आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको जनाएको छ । आयोगले भक्तपुर, काभ्रेपलाञ्चोक, गुल्मी, कास्की र तनहुँका विभिन्न मतदान केन्द्रको पर्यवेक्षण गरेको थियो ।
सहरी क्षेत्रमा मतदानमा उत्साहजनक सहभागिता रहेको र ग्रामीण क्षेत्रमा मतदान गर्ने तीव्र इच्छा हुँदाहुँदै कतिपय मतदान केन्द्र अपायक भएका कारण कम मतदान भएको पाएको आयोगले जनाएको छ । स्थलगत अनुमगनका क्रममा काभ्रेको जनहित मावि खनालथोकमा ६० प्रतिशत मतदान भएको छ भने भक्तपुरको गणेश आधारभूत प्राविमा ७५ प्रतिशत भन्दा बढी मतदान भएको पाइएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्य र सचिव दीर्घराज मैनालीको टोलीले भक्तपुरको निर्वाचन क्षेत्र नं २ मा पर्ने गणेश आधारभूत विद्यालय बालकोट, अरनिको मावि गाम्चा, ७ नं वडा कार्यालय गुण्डु र तर्गाखाल डेरी मतदान केन्द्रको पर्यवेक्षण गरेको थियो ।
त्यसैगरी, काभ्रेपलाञ्चोकको शारदा मावि पनौती र नमोबुद्ध नगरपालिकाका दाप्चा मावि र जनहित उच्च मावि केन्द्रमा पुगेर पर्यवेक्षण गरेको थियो । नमोबुद्ध नगरपालिकाका दुवै मतदान केन्द्र मतदाताको बसोबासका कारण अपायक भएको आयोगले स्पष्ट पारेको छ ।
त्यस्तै, सूचना आयुक्त गगन विष्ट नेतृत्वको टोलीले गुल्मीको मालिका गाउँपालिका–६ को अर्जै माध्यमिक विद्यालय मतदान केन्द्र, इस्मा गाउँपालिका–१ को हिमालय मावि मतदान केन्द्र र २ को पालुखा मावि मतदान केन्द्रलगायतका मतदान केन्द्रमा पर्यवेक्षण गरेको थियो । ती मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ ।
त्यस्तै, सूचना आयुक्त दुर्गा भण्डारी पौडेलको टोलीले कास्की क्षेत्र नं ३ का विभिन्न मतदान केन्द्रमा स्थलगत अनुमगन गरेको आयोगले जनाएको छ ।