प्रदेश २ सरकारले सञ्चालन गर्दै आएको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानअन्तर्गत साइकल किन्दा अनियमितता भएको उजुरी परेपछि छानबिन तथा अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार दिउँसो प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारी सम्बन्धित कागजातहरू समेत नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
अख्तियारको टोलीले कार्यालयमा छापा मारिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यको बैठकमा सहभागी रहेका मुख्यमन्त्री लालबाबु राउतले अख्तियारले छापा मारेको जानकारी पाएपछि रन्थनिँदै भने, ‘प्रदेश सरकार प्रमुखको कार्यालयमा यो शैलीको व्यवहार अशोभनीय हो।’
प्रदेश २ मा छोरीहरूको सुरक्षा, शिक्षा र सशक्तीकरणका लागि मुख्यमन्त्री कार्यालयअन्तर्गत ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान २०७५ माघ १ गतेदेखि सञ्चालनमा ल्याइएको छ। यो अभियानअन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई प्रक्रिया पुर्याएर साइकल वितरण गरिन्छ।
पहिलो चरणमा खरिद गरिएका १७ हजार थान साइकल वितरण भइसकेको छ। दोस्रो चरणमा किनिएका साइकल गोदाममै छन्। मुख्यमन्त्री कार्यालयका अनुसार सप्तरीका ३३ विद्यालयमा १ हजार ४, सिरहाका ४० विद्यालयमा १ हजार ५५१, धनुषाका ६९ विद्यालयमा २ हजार ९६५, महोत्तरीका ५६ विद्यालयमा २ हजार १९१, सर्लाहीका ५२ विद्यालयमा २ हजार ३६६, रौतहटका ६९ विद्यालयमा २ हजार ८७४, बाराका ५५ विद्यालयमा १ हजार ६९९ र पर्सामा २ हजार ३ सय वटा साइकल उपलब्ध गराइएको छ।
मुख्यमन्त्री कार्यालयले अहिलेसम्म चार चरणमा गरी ४१ हजार २६२ वटा साइकल खरिदमा करिब २९ करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये २०७७ चैतमा ११ करोड १० लाख २९ हजार १८४ रुपैयाँमा खरिद गरिएका १७ हजार २ सय ६२ वटा साइकलमा उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड उल्लेख छैन। प्रतिसाइकल भ्याटसहित ६ हजार चार सय ३२ रुपैयाँका दरले वीरगन्जको ओम सत्यसाई प्रालिले आपूर्ति गरेको जनाइएको छ।