फागुन २२, २०८२ शुक्रबार

काठमाडौँ, २२ फागुन : काठमाडौँ महानगरपालिकाले ११६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा पौरखी महिलाहरूको प्रतिनिधिमूलक जीवन्त कला प्रदर्शनी गर्ने भएको छ ।
  
दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा महानगरपालिकाका महिला लक्षित सेवा तथा कार्यक्रममा न्यायिक सहजकर्ता, महिला सञ्जाल, मेलमिलापका विषयमा जानकारी तथा ‘एक वडाः एक नमूना उद्यम कार्यक्रम’अन्तर्गतका पौरखी महिलाहरूको प्रतिनिधिमूलक जीवन्त कला प्रदर्शनी  गरिने जानकारी दिएको हो ।

महिला दिवसका अवसरमा आज पत्रकार सम्मेलन गर्दै कार्यक्रममा प्रवक्ता नवीन मानन्धरले भन्नुभयो, “विभिन्न क्षेत्रको नेतृत्वमा रहनुभएका महिलाहरूका नेतृत्व यात्राका उतारचढाव, सिकाइ र भोगाइ सुन्न ‘पावर इन एक्सन’, ‘हर टाइन इज नाउ’ शीर्षकमा महानगरपालिकाले अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने बताइएको छ ।
   
कार्यक्रमम समाजका औपचारिक तथा अनौपचारिक संयन्त्रको नेतृत्व गर्नेहरुले समुदायगत नेतृत्वको अनुभूति सुनाउनुहुनेछ । मानन्धरले भन्नुभयो, “प्रशासन, कानुन, समाज, उद्यम, उद्योग तथा वाणिज्य, नवप्रवर्तन, हक अधिकार, लैङ्गिक उत्तरदायी सहर, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरूको आर्थिक सशक्तीकरण, सूचना प्रविधिका अवसर, व्यक्तित्व विकास, समतामूलक समाज निर्माणका आयामलगायत विषयमा अनुभूति समेटिनेछन् । राज्य प्रणालीको उपल्लो ओहदादेखि सामान्य जीवनयापनका पद्धतिसम्मका शृङ्खला महिला नेतृत्वका कथा कार्यक्रममा समेटिनेछन् ।” 

कार्यक्रमका बारेमा सहभागीहरूबाट पृष्ठपोषण दिन क्युआरमा आधारित प्रश्नावली, नेपालको महिला आन्दोलन तथा अधिकारका सङ्घर्षका उदाहरणीय महिला नेतृहरूका विषयमा विवरण प्रदर्शनी गरिनेछ । 

हिंसामुक्त समाज निर्माण, सामाजिक न्यायमा आधारित प्रशासनिक सेवा, लैङ्गिकमैत्री र पहुँचयुक्त सडकसहितका पूर्वाधार विकास गर्न, सार्वजनिक सुविधामा सहज पहुँच बढाउन, सुरक्षित कार्यस्थल उपयोगका लागि सामाजिक मनोविज्ञान थाहा पाउन अन्तरसंवाद उपयुक्त स्थल बन्ने अपेक्षा गरिएको छ । यसबाट महिला, पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भएकै कारण नेतृत्वमा भेदभाव, अपमान, दुव्र्यवहार भोग्नुपर्ने अवस्था सुधारमा सहयोग हुने, महिलाहरूको नेतृत्व स्थानका लागि आपसी सिकाइ, भोगाइ आदानप्रदान हुने अपेक्षा गरिएको छ । 

स्थानीयलाई कानुनी साक्षरता प्रदान गर्न तथा न्यायमा छिटो र सरल सहज पहुँच प्रदान गर्न वडास्तरमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । यस वर्ष फागुन २४ गते ‘राइट्स, जस्टिस एक्सनः फर अल वुमेन एण्ड गल्र्स’ अन्तरराष्ट्रिय र ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ राष्ट्रिय नारासहित ११६औँ अन्तरराष्ट्रिय महिला दिवसका कार्यक्रम आयोजना हुँदैछन् ।
---