खोटाङ, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अग्रता कायम राख्नुभएको छ । आज अपरान्ह ४ः०० बजेसम्म कूल २८ हजार ८२२ मतगणना हुँदा राईले सात हजार १२२ मत प्राप्त गर्नुभएको छ ।
राईलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईले पछ्याइ राख्नुभएको छ । उहाँले पाँच हजार ८४५ प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साथै नेपाली कांग्रेसका वीरकाजी राईले पाँच हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा हरि रोकाले चार हजार ५८४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले दुई हजार ५५५, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले १५६ मत प्राप्त गर्नुभएको छ ।
कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ९१, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले ४४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्र बुढाथोकी ‘शैलेस’ले ९९, नेपाल मदजुर किसान पार्टीका ध्यानप्रसाद ढकालले १७, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ३६२, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले ११, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले १२ प्राप्त गर्नुभएको छ । यस्तै, स्वतन्त्र उम्मेदवारहरु डा राजकुमार राईले २० र तीलकचन्द्र राईले २४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।
मतगणना गरिएकामध्ये एक हजार ९०५ मत बदर भएको जनाइएको छ । बदर भएका मतमध्ये अधिकांश एउटै मतपत्रमा दुई वा दुईभन्दा बढी छाप हालेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ६३ हजार ३५ मत खसेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले बताउनुभयो । एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा फागुन–२१ गते सम्पन्न निर्वाचनमा ४३ प्रतिशत मात्रै मत खसेको हो ।