फागुन २६, २०८२ मंगलबार

रसुवा, २६ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपले मनोनयन पत्र दर्ता गराएका नौ उम्मेदवारको धरौटी जफत भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार धरौटी जफत हुनेमा छ दल र तीन स्वतन्त्र उम्मेदवार रहनुभएको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ बमोजिम नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील  लोकतान्त्रिकका दावा मिङ्मर तामाङ र नेकपा माओवादी ( विप्लब) का होमप्रसाद आचार्य रहनुभएको छ ।
       
    यसैगरी, स्वतन्त्र उम्मेदवारमा क्रमशः त्रय चित्रकुमारी देवकोटा, मिङ्मर तमाङ र सागर लामा रहनुभएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिनुभयो ।
          
    सदरको १० प्रतिशत मत प्राप्त गर्नुपर्नेमा सो प्रतिशत नपुगेका कारण उहाँहरूको धरौटी जफत भएको र सो रकम राज्यकोषमा सदर गरिने जनाइएको छ ।
         
    नियमानुसार पुरूषकोभन्दा महिला उम्मेदवारको ५० प्रतिशत शुल्क कम हुने भएका कारण रसुवा जिल्लाबाट महिला उम्मेदवारका रूपमा एकमात्र चित्रकुमारी देवकोटा खडा हुनुभएका कारण उहाँको नाउँबाट पाँच हजार र अन्य पुरूष उम्मेदवारको हकमा रु १० हजारका दरले जम्मा भएको रू ९५ हजार सरकारको खातामा जाने बताइएको छ । 
        
    रसुवामा नौ दल र तीन स्वतन्त्र गरी कुल १२ जना उम्मेदवारमध्ये नेपाली कांग्रेसका मोहन आचार्य विजयी हुनुभएको र धरौटी फिर्ता पाउनेमा रास्वपाका वसन्त भट्ट र नेकपा एमालेका प्रेम तामाङ रहनुभएको बताइएको छ ।
         
    यस्तै, निर्वाचन ऐननियमअनुसार सबै उम्मेदवारले चुनावी खर्च विवरण ३५ दिनभित्र बुझाउन दल एवं स्वतन्त्र उम्मेदवारलाई आइतबार पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी राजन रायले जानकारी दिनुभयो ।