चितवन, ३० फागुनः यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद माडी नगरपालिकाले यहाँको भूमिलाई ७ भागमा बर्गीकरण गरेको छ ।
नगरपालिकाले भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमीनको बर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जङगल रहेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलब ४४ हेक्टर रहेकामा १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङगलले ओगटेको छ ।
यस्तै ६ हजार ५३५ दशमलब ०७ हेक्टर कृषि योग्य रहेको छ । उहाँका अनुसार सार्वजनिक भूमि ३१५ दशमलब ५२ हेक्टर, आबासीय जमीन १ हजार ९१८ दशमलब ८७ हेक्टर, व्यवसायीक जमीन ५९ दशमलब ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलब ०२ हेक्टर र सांस्कृतिक भूमि ९ दशमलब ३१ हेक्टर रहेको छ ।
भूमि बर्गीकरणको काम सकिएकाले सबै बिबरणहरु वडा कार्यालयहरुमा पठाइएको उहाँले जानकारी दिनुभयो । पालिकाले गरेको भूमि को बर्गीकरणबारे चित्त नवुझे अगामी चैत १ गतेसम्ममा भू उपयोग कार्यान्वयन निर्देशिका २०८१ को खफा २८ को उपदफा २ वमोजिम निवेदन पेश गर्न सूचना जारी गरिएको छ । जग्गा धनिले भू उपयोग बर्गीकरणमा चित्त नबुझाएर निवेदन दिएमा यस्ता निवेदन माथि अध्ययन गरी पुर्नबिचार गरिने अधिकृत भूषालले बताउनुभयो ।