भोजपुर, १ चैतः टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी प्राकृतिक सौन्दर्यका कारण पर्यटकमाझ लोकप्रिय बन्दै गएको हो ।
समुद्री सतहबाट करिब दुई हजार ५०० मिटर उचाइमा रहेको यो पोखरी घाँसेमैदानको बीचमा अवस्थित छ । वरिपरि फैलिएको हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । बाह्रै महिना पानीले भरिएको रहने यस पोखरीको मनमोहक दृश्यले पदयात्रामा निस्कने पर्यटकलाई विशेष आनन्द दिने गर्छ ।
मुन्दुम पदमार्गमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि मलुवा पोखरी विश्रामस्थलका रूपमा पनि परिचित बन्दै गएको छ । पदमार्गको यात्रामा निस्केका पर्यटक यहाँ पुगेर केही समय विश्राम गर्ने, फोटो खिच्ने र प्राकृतिक दृश्यावलोकन गर्ने गर्दछन् ।
पर्यटकको आकर्षण बढाउन पोखरीमा माछाका भुरासमेत हालिएको छ । पोखरी वरिपरि फैलिएको घाँसेमैदान र सुन्दर वातावरणले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ । वसन्तयाममा वरिपरि फुल्ने गुराँस तथा अन्य वनस्पतिले यस क्षेत्रको सौन्दर्यलाई थप मनमोहक बनाउने गरेको स्थानीयवासी बताउँछन् ।
पर्यटन प्रवर्द्धनलाई ध्यानमा राख्दै गाउँपालिकाले पोखरी क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा ध्यान दिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार मुन्दुम पदमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढेसँगै यस क्षेत्रको महत्व पनि बढ्दै गएको छ ।
स्थानीय तहले पदमार्गको प्रचारप्रसारसँगै मलुवा पोखरी क्षेत्रलाई थप व्यवस्थित बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ । प्राकृतिक सुन्दरता, शान्त वातावरण र मुन्दुम पदमार्गसँगको सम्बन्धका कारण मलुवा पोखरी पछिल्लो समय जिल्लाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।