चैत २, २०८२ सोमबार

वासुदेव पौडेल

गण्डकी, २ चैत : कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिम श्रृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रुपमा जति महत्व छ त्यति नै यसले ऐतिहासिक महत्त्व पनि बोकेको छ ।

    मन्दिर स्थापनाको मिति यकिन नभएपनि मन्दिरका सम्बन्धमा प्राप्त किंवदन्ती, प्रमाण समेतका आधारमा करिब १६९ वर्षअघि स्थापना भएको हुनसक्ने अनुमान गरिएको अनुसन्धाता डा अशोक थापाले बताउनुुभयो । थापाका अनुसार कण्ठदेवी मन्दिरको इतिहास राणा प्रधानमन्त्री जङ्गबहादुरसँग पनि जोडिएको छ । विसं १९१३ साउन २४ गते तत्कालीन श्री ५ सुरेन्द्र वीरविक्रम शाहले दरबारबाट एक ऐतिहासिक घोषणामार्फत जङ्गबहादुरलाई कास्की र लमजुङ राज्यका श्री ३ महाराज पद दिएका थिए । उक्त घोषणसँगै जंगबहादुर श्री ३ जङ्गबहादुर कुँवर राणाजीका रुपमा चिनिएका थिए ।

    उहाँको बुबाले सुनाएको कथा उद्धृत गर्दै थापाले भन्नुभयो, “जङ्गबहादुर तत्कालीन समयमा स्याङ्जा–नुवाकोट राज्यतर्फको यात्रामा यस क्षेत्रमा पर्ने राजाको चौतारो, लामगादी, भञ्ज्याङ हुँदै भोटेपोखरी उक्लन्थे । त्यही यात्रामा उनी भोटेपोखरी मन्दिर नजिकको ढुङ्गाको अग्लो छेउमा आफ्नो घोडालाई बाँधेर निगालोको घाँस खुवाएर आराम गराउँथे र कण्ठदेवीको दर्शन गरेर उनी भर्तीपोखरा, कृस्ती हुँदै मट्टिखानको बाटो भएर स्याङ्जा नुवाकोट हिँड्थे ।” 

    यस मन्दिरको नाम कण्ठदेवी राखिएका सम्बन्धमा विभिन्न तथ्यहरू प्राप्त भएको उहाँले बताउनुभयो । अनुसन्धानकै क्रममा यस सम्बन्धमा इतिहासविद् डा.जगमान गुरुङसँग आँफूले केही महत्वपूर्ण तथ्यहरू जानकारी लिएको उहाँले बताउनुभयो । शिव पुराणमा नीलकण्ठ महादेवले समुद्र मन्थनको विष पिएर ब्रह्माण्डको रक्षा गरे, उनी नीलो गलाको प्रतीक बनेको र त्यही कण्ठको स्मरण स्वरूप, देवी पार्वतीको यो रूपलाई ‘कण्ठदेवी’ भनिएको हुनसक्ने इतिहासविद् डा जगमान गुरुङको तर्क रहेको उहाँले बताउनुभयो ।

    अर्को तर्कमा ‘कण्ठ’ भनेको स्वरको प्रतीक पनि हो । स्वरकी देवी सरस्वती हुन् । भोटेपोखरीमा ऐतिहासिक विद्यालयको स्थापना हुनु अगाडि नै यो मन्दिर थियो । भोटेपोखरीको नजिकै विद्यालय रहेको र विद्याकी देवीसँग यो मन्दिर जोडिएको हुनाले दुर्गा र सरस्वती–शक्तिको मूर्त रूप र ज्ञानको प्रकाश एउटै थलोमा मिसिएर यसको नाम कण्ठदेवी भएको हुनसक्ने गुरुङले जानकारी गराउनुभएको थापाको भनाइ छ ।

    इतिहासको साक्षीका रुपमा रहेको यस मन्दिरको संरक्षण र विकासका लागि स्थानीयवासीले प्रयास जारी राखेका छन् । कण्ठदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष दीपविक्रम चन्दका अनुसार पछिल्ला समयमा यसको संरक्षण र विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । मन्दिरको विशेष गरी लाखु छहरा ठूलो बन खहरे खरबारी उपभोक्ता समितिमार्फत संरक्षणका काम हुँदै आएका छन् ।

    मन्दिर परिसरमा रहेका काली नाग, सेती नाग, भयँर, अयँर, देउराली देवी, भैरव, श्रीकृष्ण आदिका शिला र थान रहनुले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरेको  स्थानीयवासी बताउँछन् । विभिन्न महत्वपूर्ण तिथिमिति एवं चाडपर्वमा स्थानीयले कण्ठदेवीको पूजाआजा गर्दै आएका छन् ।     

    यस मन्दिर दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण यहाँको महिमा र गरिमा अझै चुलिएको स्थानीयवासीको तर्क छ । मनोरम भूभागमा रहेका कारण यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी पूर्वाधार विकासका काम अघि बढाइएको छ ।

    गण्डकी प्रदेश सरकारको सहयोगमा यहाँ जाने मार्ग हनुमान पोखरीदेखि माथि केही भागमा सिँढी बाटो निर्माण गरिसकिएको छ । त्यस्तै मन्दिर परिसर क्षेत्रमा नै खेल पर्यटनको विकास गराउने लक्ष्यका साथ बाँस्केटबल कोर्ट निर्माण गरिसकिएको छ ।

    यहाँस्थित कण्ठदेवी मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्दै स्वदेशी एवं विदेशी पर्यटक आकर्षित गर्न सकिने तल्लो गगनगौडा निवासी मुकुन्द घिमिरे बताउनुहुन्छ । पोखरा–३० को पावरहाउस क्षेत्रबाट कण्ठदेवी मन्दिरलाई समेट्दै एक दिवशीय हाइकिङ मार्ग विकास गर्न सकिने उहाँले बताउनुभयो ।

    “पावर हाउसबाट हाइकिङ सुरु गरेर तिक्लाङको सुन गुफा अवलोकन गर्दै पर्यटकहरू यहाँका खैरेनी, हनुमान पोखरी हुँदै कण्ठदेवी मन्दिर पुग्न सक्छन्”, उहाँले भन्नुभयो, “उत्तरतर्फका मनोरम हिमाली दृश्य अवलोकन गर्दै हिँड्न सकिने यो गन्तव्य एक दिवशीय हाइकिङका लागि अति उपयुक्त देखिन्छ ।” कण्ठदेवी मन्दिर हुँदै पर्यटकहरू यहाँभन्दा माथि रहेको हुडिकोटसम्म हाइकिङ गरेर पुग्न सक्ने उहाँले बताउनुभयो ।