चितवन, ३ चैतः भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक रु तीन करोड बजेट कार्यपालिकाले सुनिश्चित गरेको छ ।
महानगरपालिकाले यसअघि नै रु पाँच करोड १९ लाख ७५ हजार भुक्तान गरिसकेको छ । मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन तयार भई स्वीकृत भएपछि रकम भुक्तान गर्न भनेको अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वातावरण प्रभाव मूल्याङ्कनका लागि आवश्यक तथ्याङ्क र कागजातहरु उपलब्ध गराई सकिएको छ । मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि रूख कटान थाल्ने आश्वासन दिएको छ ।
जग्गा भोगाधिकार र एक बिरुवा कटान गरे बापत १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षणका लागि महानगरले यसअघि नै रु पाँच करोड १९ लाख ७५ हजार भुक्तान गरेको महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विराट घिमिरेले बताउनुभयो । अब रोपिने बिरुवा संरक्षणका लागि रु एक करोड ९० लाख विनियोजन गरिएको हो ।
हाल महानगरपालिकामा दैनिक ८० टन भन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ जसलाई आँपटारीको नजिकै खोल्सामा व्यवस्थापन हुँदै आएको छ ।