मोरङ, ४ चैतः प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको क्रिकेट टोली घोषणा गरिएको छ ।
उक्त प्रतियोगिताका लागि सुजन थपलियाको कप्तानीमा टोलीको घोषणा गरिएको कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डेले जानकारी दिनुभयो । विराटनगर–६ स्थित मेरिलेवन ज्वाला क्रिकेट रङ्गशालामा हिजो सम्पन्न खेलमा खेलाडी छनोट गरिएको थियो ।
खेलाडी छनोट प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरका खेलाडीको सहभागिता थियो । उक्त प्रतियोगिताका लागि १५ खेलाडी, प्रशिक्षक, टोली व्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा गरिएको छ । प्रतियोगितामा कप्तान थपलियासहित झापाबाट छ, मोरङबाट चार, उदयपुरबाट तीन, सुनसरी र इलामबाट एक÷एकजना खेलाडी छनोट भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
प्रतियोगिताका लागि प्रशिक्षकमा राजकुमार प्रधान, व्यवस्थापकमा शशीशेखर झा र फिजियोमा विपिन भट्टराई रहेका छन् । टोलीमा मोरङबाट उपकप्तानमा शाकिब हक, फिर्दोष अन्सारी, दिपेश कँडेल, प्रेम कामत, झापाबाट थपलिया बाहेक समिर कार्की, अङ्कित सुवेदी, ज्ञानेन्द्र श्रेष्ठ, आशिक राना मगर र विपिन महतो, सुनसरीबाट रोहन साह, इलामबाट शिवाङस बजगार्इं तथा उदयपुरबाट सोनु अन्सारी, प्रभात किरण हाङखिम र सुमन श्रेष्ठ चयन भएका छन् ।
बागमती र मधेस प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशले नौ वटा खेल खेल्नेछ । प्रतियोगितामा कोशीसहित सात प्रदेश, तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपिएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।